
गौर,५ माघ । चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट आइपुगेका छन्। शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट आएका हुन्।
उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए ।
उनले बिहीबार एक सय ५० थान कम्बल वितरण गरे ।
उनले मुसहर बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य अवस्था जोखिममा रहेको सुनाए । तराई–मधेसमा चिसोका कारण ज्यान गुमाइरहेको अवस्थामा मानवीय सेवाका लागि आफू न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट आएको उनले बताए ।
उनले समनपुरमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । डा. टोसिवा कार्की, अभिषेकराज सिंहलगायत सम्मिलित उनको टोलीले बिहीबार शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरेको छ । शिविर शुक्रबार पनि सञ्चालन हुने सिंहले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट