भारतीय जेलका नेपालीको खोजी, एउटै जेलमा ३४ नेपाली

 पब्लिक संवाददाता      मङ्लबार, माघ २, २०७४      0
फाईल तस्बिर

काठमाडौं,२ माघ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ।

दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी दिए ।दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क सङ्कलन गरेको थियो।

‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन बिताउन बाध्य भएका नेपालीहरूको उद्धारका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन सुरु गरेका छौँ’ रेग्मीले भने, ‘तीन चार महिनाभित्र यो कार्य सकिने अनुमान छ।’

त्यसपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र र राज्य सरकारसँग पहल गरिने उनले बताए।दूतावासका अनुसार भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी अवस्थामा भेटिएका छन्। हिमाञ्ल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा पुग्दा यस्तो तथ्य बाहिरिएको हो।

हिमाञ्चलको एउटै जेलमा ३४ जना नेपालीहरू बन्दी जीवन बिताउन बाध्य रहेको दूतावासले जनाएको छ।त्यसपछि भारतीय जेलबाट नेपालीको उद्धारका लागि अध्ययन थालिएको रेग्मीले जानकारी दिए। दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ। जसमध्ये ४८ जनाको त हिमाञ्चल प्रदेशका जेलहरुबाट उद्धार गरिएको हो।

कामको खोजीमा हिमाञ्चल, उत्तराखण्ड लगायत राज्यमा आएका नेपाली विभिन्न अपराधमा लामो समयदेखि स्थानीय जेलमा बन्दी भएका छन्।

अधिकांश नेपाली स्थानीय प्रहरीको झुटो आरोपको सजाय पनि भोग्न बाध्य भएका छन्। तीमध्ये कतिपयका आफन्त र केही संस्थाहरूको प्रयासपछि रिहा भएर नेपाल फर्किएका हुन्। तर उद्दार नभएका अझै कति नेपाली जेलजीवन बिताउन बाध्य छन् भन्ने यकिन तथ्याङ्क कसैसँग थिएन। यस्तो अवस्थामा भारतीय जेलका नेपालीको खोजी दूतातावासले थालेको हो।

५० वर्षभन्दा लामो समयदेखि भारतमा नेपाली दूतावास सञ्चालित छ। तर पनि यहाँका नेपालीको तथ्याङ्क कोहीसँग छैन। तथ्यांक सङ्कलनमा ढिलाइ हुँदा धेरै नेपालीको अवस्था अत्तोपत्तो पनि छैन। -अन्नपूर्णपोष्ट दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।