नब्बे सालमा गएको भूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस मनाईंदै

 पब्लिक संवाददाता      मङ्लबार, माघ २, २०७४      0
फाईल तस्बिर

काठमाडौं,२ माघ। सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिने छ।

२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लियो।

त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो। अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् ।

राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल अहिले विवादमा छ।

एक वर्षअघि बालगोपालेश्वर मन्दिरमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेर सम्पदा मास्न खोजिएको भन्दै पुरातत्व विभागले पुनःनिर्माणमै रोक लगाएको थियो।

गत पुस दोस्रो साता रानीपोखरी पुनर्निर्माणमा यही समस्या दोहोरिएपछि हाल काम रोकिएको छ।

विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रतिवेदन दिएपछि मात्र काम अघि बढ्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन्।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।