संखुवासभा ३० पुस— भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभानतर्फ गएको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित ५ जनाको मृत्यु भएको छ।
केही बेपत्ता भएको अनुमान गरिएको छ । मृत्यु हुनेमध्ये पाथीभरा हेदांनाका स्थानीय सुरेश राईको मात्रै सनाखत भएको छ।प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जिप आइतबार मध्याह्न भोटखोला गाउँपालिका-३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो। घटनास्थलबाट उद्धार गरिएको ३ शवको पहिचान भएको छैन। भीरमा अझै शव हुनसक्ने अनुमान गरिएको छ।
जिप स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईको रहेको प्रजिअ जोशीले बताए । जिपमा चालकसहित समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनियर सुदीप ढकाल पनि सवार थिए। भूकम्प पुनर्निर्माणसम्बन्धी तालिम दिन उनीहरु काठमाडौंबाट जिप लिएर आएका थिए।
घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तीमा ७० किलोमिटर उत्तरमा पर्छ। जिप कसरी दुर्घटना भयो भन्नेबारे जानकारी आएको छैन। यो सडक खण्डमा करिब २ महिना अघिमात्र ट्रयाक खोलिएको थियो।