धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई ३७ वर्षपछि सहिद घोषणा

 पब्लिक संवाददाता      शनिबार, पुस २९, २०७४      0

काठमाडौं, २९ पुस। सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ। प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो। यो खबर आजको नयाँपत्रिका दैनिकले  लेखिएको छ।

पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो। उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ। लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन।

दलहरूको सहमतिमा प्रदेश प्रमुख
सरकारले एमाले–माओवादीसँगको परामर्शपछि मात्र प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम वा अस्थायी कार्यालय तोक्ने भएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता मोहन बस्नेतले सर्वदलीय सहमतिका आधारमा आगामी प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय लिने निर्णय भएको बताए ।

वैशाखबाट आर्थिक गणना गर्ने
सरकारले ०७५ वैशाखबाट राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी १ वैशाखबाट त्यस्तो गणना गर्ने निर्णय गरेको हो । पहिलोपटक राष्ट्रिय आर्थिक गणना हुन लागेको हो । तथ्यांक विभागले संकलन गर्ने गणनामा व्यक्ति, संस्थाको आर्थिक आर्जन, सेवा सञ्चालन, देशमा कस्ता–कस्ता व्यापार कुन स्थानमा छन्, कहाँ कस्तो प्रभाव छ भन्ने विवरण संकलन हुनेछ ।

एक सचिवको बढुवा
साथै बैठकले न्यायसेवातर्फका सहसचिव महेन्द्रनाथ उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । उनलाई सर्वोच्च अदालतको रजिस्ट्रारमा पदस्थापन गरिएको हो । उनी यसअघि सर्वोच्च अदालतमै सहरजिस्ट्रार थिए ।

कर्मचारीलाई स्वेच्छिक अवकाश प्याकेज घोषणा
सरकारले समायोजन ऐनअनुसार स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि सात वर्षबराबरको एकमुष्ट पेन्सन सुविधा दिने घोषणा गरेको छ । निजामती सेवामा २० वर्ष समय बिताएका र ५० वर्ष उमेर पुगेका कर्मचारीलाई सरकारले यस्तो सुविधा दिने भएको हो । मन्त्रिपरिषद् बैठकले समायोजन ऐनमा भएको व्यवस्थाअनुसार स्वेच्छिक अवकाशमा जाँदा सात वर्षको एकमुष्ट पेन्सन सुविधा दिने निर्णय गरेको हो।

सहिद घोषणा गरिएकाहरू

-गोपालआनन्द राई

-गंगाबहादुर तुर्हाङ राई

-भैरवबहादुर खालिङ

-बलबहादुर खत्री

-पुत्रमान राई

-टंकबहादुर विश्वकर्मा

-रणध्वज पुमा राई

-गणेशबहादुर विश्वकर्मा

-हाङ्खिमा साइँली राई

-झगेन्द्र राई

-धनवीर दर्जी

-चन्द्रबहादुर दमाईं

-रामकुमारी राई

-गम्भीरमान दर्जी

-केशरमान राई

-लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ। युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।