
दमौली, पुस २९ । प्रा.डा. गोविन्द केसीको आन्दोलन र उनले माग गरेको प्रधानन्यायाधीशको नागरिकता छानविनले गोपाल पराजुलीको गृहजिल्ला तनहुँमा तरगं ल्याएको छ।
जिल्ला प्रशासन कार्यालय(सिडिओ) तनहुँमा पराजुलीको नागरिकता बारे नियमित फोन आउने गरेको प्रशासनले जनाएको छ।
शुक्रबार मात्रै सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले यसबारे निकै प्रश्नको सामना गर्नुपरेको छ।प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो।
पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए। तर, सुरुमा वितरित नागरिकतामा जन्म मिति भने उल्लेख नभएको प्रशासन श्रोतको भनाइ छ।
‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ पराजुलीको नागरिकता प्रकरण अहिले विवादमा आएजस्तो ठूलो नभएको जिकिर गर्दै ती अधिकारीले भने,‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौंं प्रशासनबाट प्रतिलिपि निकाल्नुभएको देखिन्छ।’
उनले सुरुको नागरिकतामा जन्म महिना र मिति उल्लेख नभएकाले पराजुलीले सेवा प्रयोजनमा पर्नसक्ने असरलाई ध्यानमा राखेर मिति उल्लेख गरेको हुनसक्ने बताए । ‘पहिलेको र अहिलेको मितिमा फरक पर्यो भन्ने कुरा गलत छ,’ उनले भने।
(अन्नपूर्णपोष्ट दैनिकबाट)