
दार्चुला,२८ पुस। चमेलिया जलविद्युत् आयोजनाले शुक्रबारदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ।
३० मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए।‘आज दिउँसो ३ः३५ बजे ग्रीडमा सिन्क्रोनाइज गरेका छौं’–दाहालले भने।
आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित् लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ। आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ।
रु. ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ।
आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ। प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् ।
प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारणलाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वन्चित भएका हुन्।
दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भएपनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन।