काठमाडौं,२८ पुस। नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत् २३औं पुरुष राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौल समूहमा स्नाचतर्फको १९ वर्षअघिको कीर्तिमानलाई भंग गरेका छन्।
उनले आफ्नो नाममा १२१ केजीको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। यसअघि, मदन शिवभक्तिको नाममा १२० केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो। शिवभक्तिले आठौं साफ गेममा उक्त कीर्तिमान कायम गरेका थिए।
स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्यपदक पाए। क्लिन एन्ड जर्क र कुलमा पनि दिनेशले नै स्वर्णपदक पाए। उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे।
प्रहरीका सन्देश गरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए।
पोखराको उद्योग वाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजीमाथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे।
दोस्रो स्थानमा प्रहरीका राजीव महर्जन रहे । उनले ९५ केजी भार बहन गरे । कन्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्यपदक पाए।
पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरी प्रथम भए । क्लिनमा कन्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए। स्नाचमा दोस्रो स्थानमा रहेका प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्यपदक पाए।
कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कन्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए।
प्रतियोगिताको तेस्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्णपदक हात पारे । उलने स्नाचमा १०५ र क्लिन एन्ड जर्कमा १२७ केजी गरी कुलमा २३२ केजी भार बहन गरे।
प्रहरीका गगन चन्दले स्नाचमा ९३ र क्लिनमा ११७ केजी गरी कुलमा २१० केजी भार बहन गरे। चन्दले रजत पदक पाए। तेस्रो स्थानमा रहेका कन्चनपुरका विशाल सिंह बिष्टले स्नाचमा ८५ र क्लिनमा ११५ गरी कुल २०० केजी भारका साथ कास्य पाए।
यस्तै, पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहलबहादुर बसेलले क्लिन एन्ड जर्क र कुलमा स्वर्ण पाए। उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे।
टहलले स्नाचमा रजत पाए। उनले स्नाचमा ९० केजीमात्र भार बहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे। महर्जनले स्नाचमा १०० केजी भार बहन गरे।
महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए। भक्तपुरका जयदी कोजुले कास्य पाए। कोजुले स्नाचमा ८१ केजी र क्लिनमा ११० गरी कुल १९१ केजी भार बहन गरे।
च्याम्पियनसिपमा सेनाका कमलबहादुर अधिकारीले पुरुष तर्फको स्ट्रंगेस्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधिसमेत जितेका छन्।