
काठमाडौं, २८ पुस । नेपाल–चीन इन्टरनेट सञ्जालमा जोडिएका छन् ।नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यावसायिक सन्चालनमा आएको हो।
नेपाल चीनसँग इन्टरनेट सञ्जालमा जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ।
शुक्रबार टेलिकम कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्तरुपमा सो नेटवर्कको उद्घाटन गरे ।
अब नेपाल भारत र चीन दुवैतिरबाट विश्वसँग जोडिएको टेलिकमले जनाएको छ ।
२०१६ डिसेम्बर ६ मा अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्ने विषयमा सम्झौता भएको थियो।
रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । चीनसँग स्थलमार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट अरु देशका सेवा प्रदायकसँग पनि जोडिन सहज हुने टेलिकमले जनाएको छ ।
तत्कालका लागि १.५ जीबीपीएस ब्यान्डविथ ल्याएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।
चिनियाँ स्थलमार्ग हुँदै हङकङमा रहेको सर्भरबाट वितरण भएको ब्यान्डविथ नेपाल टेलिकमको रसुवागढी–केरुङ फाइबर मार्गबाट आउने जनाइएको छ ।
चीनबाट इन्टरनेट ल्याएपनि ब्यान्डविथको मूल्य भने भारतबाट ल्याएसरह नै भएको बताइएको छ।चिनियाँ इन्टरनेट भारतीय कनेक्सनभन्दा तीव्र हुने टेलिकमका अधिकारीले बताएका छन् ।