
काठमाडौं २७पुस। सडक विभागअन्तर्गत ठेक्का लगाइएका क्षेत्रीय तथा पर्यटकीय सडक रकम अभावमा निर्माण ठप्प भएको छ। विभागमा २३ अर्ब दायित्व भुक्तानी गर्न नसकेपछि देशभरका चार हजार बढी सडक निर्माण रोकिएको हो। आर्थिक वर्ष ०७३-७४ मा क्षेत्रीय तथा पर्यटकीय, काठमाडौं सहरी र काठमाडौं बाहिर सहरी सडक शीर्षकअन्तर्गत विकास निर्माण ठप्प भएको हो।
विभागले बहुवर्षीय ठेक्का सम्झौता गरिसकेकाले ठेकेदारले काम गरी बिल पेस गर्दा किस्ता-किस्ताको रकम नै भुक्तानी नभएपछि निर्माण कार्य रोकेको सडक विभाग सहायक सूचना अधिकारी नारायण लामिछानेले बताए। पहिलो किस्ताको काम सम्पन्न गरी आठ अर्बको बिल आए पनि महिनौंदेखि बजेट अभावले भुक्तानी गर्न नसकेको लामिछानेले बताए। यसमा क्षेत्रीय तथा पर्यटकीय सडकको संख्या तीन हजार रहेको र अन्य करिब एक हजार संख्यामा बहुवर्षीय ठेक्का लागिसकेको हो। अर्थ मन्त्रालयले रकम निकासा नगरेपछि ७७ जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण सुरु भएको योजना रोकिएर अलपत्र भएको विभागले जनाएको छ।
पहिलो चरणमा काम सम्पन्न गरी निर्माण कम्पनीले बिल पेस गरिसकेको छ। बिल भुक्तानी नहुँदा प्रचलित ब्याजदरसमेत व्यहोर्नुपर्ने कानुनी प्रावधानले गर्दा खर्च झन् बढ्दै गएको छ। ग्रामीण क्षेत्रमा रहेका यी सडक निर्माणसँग विकास निर्माणको गति तीव्र भए पनि ठेकेदारले रकम नभएको भन्दै बहाना बनाउने गरेको र जनताले सास्ती भोग्नुपरेको छ। यता, अर्थ मन्त्रालयले भने बजेट अभावले कुनै निर्णय गर्न नसकेको सडक विभागलाई जानकारी दिएको छ।
अर्थ मन्त्रालयले सडक विभागअन्तर्गतका रकम स्थानीय तहमा पठाएको जनायो तर उक्त रकम सडक निर्माणको शीर्षकमा नभई निःसर्त शीर्षकमा पठाइँदा अन्यत्रै खर्च गरेको बुझिएको छ। अर्थले बजेट भुक्तानी गर्ने क्रममा सडक विभागसँग कुनै समन्वय नगर्दा विकास निर्माण ठप्प भएको विभागको आरोप छ। स्थानीय तहले बजेट प्राप्त गरे पनि सडक योजना कार्यान्वयन गर्न समन्वय गरेको छैन।
ताप्लेजुङमा मात्र १८ करोड भुक्तानी बाँकी
ताप्लेजुङको उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्गअन्तर्गत ठेक्का लगाइएका एक दर्जन सडकको १८ करोड भुक्तानी बाँकी रहेको उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्गका प्रमुख कुवेर नेपालीले बताए। सुकेटार पाथीभरा सडक मात्र पाँच अर्बमा बहुवर्षीय ठेक्का लागेको तर रकम अभावले काम गर्न नसक्दा विकास निर्माण ठप्प भएको उनले बताए। हालै आयोजना गरिएको पाथीभरा महोत्सवसमेत सडक निर्माण नाहुदा प्रभावित बनेको उनले गुनासो गरे।
काबेली छेकम्वु सडक १८ करोडमा ठेक्का लागेको दोभान सान्थाक्रा लिङथेप हुँदै नाल्वु जाने सडक बहुवर्षीय ठेक्काका कारण समस्या भएको छ। दायित्व भुक्तानी बाँकी हुँदा विकास प्रभावित भएको छ भने ६ महिनादेखि योजनाको भुक्तानी गर्न नसकिएको नेपालीले बताए। ठेक्का सम्झौतामा बहुवर्षीय काम रहेकाले भुक्तानी दायित्व रहेको हो। यस वर्ष क्षेत्रीय तथा पर्यटकीय, काठमाडौं सहरी र काठमाडौं बाहिर सहरी सडक शीर्षक बजेटको रातो किताबमा उल्लेख छैन।
(अन्नपूर्ण पोष्ट दैनिकबाट)