
अछाम : छाउपडी गोठमा सुतेको अवस्थामा अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानमा गएराती २२ वर्षीया एक युवतीको मृत्यु भएको छ।
साविकको भैरवस्थान गाविस ९ लकान्द्राकी २२ वर्षीया गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको हो । मृतक गौरी तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत थिइन्।
बेलुकी खाना खाएर सुतेकी गौरी बिहान अबेर सम्म नउठेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला परेको ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । ‘दिनभर मेलामा खर काटेर बेलुकी खाना खाएर सुतेकी बुहारी बिहान त मृत अवस्थामा भेटिइन् । ससुरा डम्बरले भने ,’बेलुकी खाना खाएर सुत्दा सम्म त केही बिसन्चो थिएन राती के भयो थाहा भएन।’
मृतकका श्रीमान वीरेन्द्र बुढा नेपाल प्रहरीमा कार्यरत छन् । वीरेन्द्र र गौरीको डेढ वर्ष पहिले विवाह भएको थियो । महिला तथा बालबालिका कार्यालयले सेभ्द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थानलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको थियो। गत वर्ष तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो। (अन्नपुर्ण पोष्ट दैनिकबाट)