सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगलाई बिक्री-वितरणमा रोक

 पब्लिक संवाददाता      शनिबार, पुस २२, २०७४      0

काभ्रे२२,पुस।गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा सिल गरेको हो। यो खबर राजकुमार गोलले आजको नयाँ पत्रिकामा लेखेका छन्।

सरकारले ग्यास उद्योगले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ। तर, ती उद्योगले गुणस्तर कायम नराखेको विभागले जनाएको छ। उद्योग सञ्चालकहरूलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

कुन ग्यास उद्योगमा के भेटियो ?

सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिन फारम भरेको, तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए। ‘सगरमाथाबाहेक अरू ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिन फारमसमेत भरेका छैनन्,’ उनले भने, ‘अब ती ग्यास उद्योगहरूले भरेका सिलिन्डरबाहेक अन्य सिलिन्डर भर्न र उत्पादन एवं बिक्री–वितरण गर्न पाउँदैनन्।’

सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले एक्कासि उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने भन्दै केही समय दिएर निश्चित मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउनुपर्ने बताए। ‘एक्कासि उद्योग बन्द गर्दा उद्योगी र उपभोक्ता मारमा पर्छन्,’ अग्रवालले भने।

काभ्रेको बनेपा नगरपालिका–१० थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग अमृत अग्रवाल, सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गर्दै आएका छन्। काभ्रेमा सगरमाथा, सूर्य, चण्डेश्वरी, उग्रचण्डी र हिमाल गरी पाँचवटा ग्यास उद्योग सञ्चालनमा भए पनि कुनैले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।