नयाँ दिल्ली २०पुस। जेट एयरवेजको एउटा विमानमा पाइलट र को–पाइलटबीच उडानकै समयमा विवाद बढेको तथा विवादकै बीच को–पाइलट रुँदै ककपिटबाट बाहिर निस्किएको समाचार प्रकाशमा आएको छ।
समाचार एजेन्सीहरुका अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् १ जनवरीमा लन्डनबाट मुम्बईतर्फ आउँदै गरेको विमानमा सो घटना भएको हो। सो विमानमा पाइलट र महिला को–पाइलटबीच उडानकै समयमा विवाद भएको बताइन्छ। ती दुवै ‘लिभ–इन रिलेशनसिप’ मा रहेको समाचार एजेन्सीहरुको भनाइ छ।
विवादकै बीच पाइलटले को–पाइलटलाई थप्पड हानेपछि रुँदै ककपिटबाट को–पाइलट बाहिर निस्किएकी थिइन्। विमानमा सवार यात्रुका अनुसार बारम्बार पाइलटले संकेत गर्दै को–पाइलटलाई ककपिटमा बोलाएका थिए। तर को–पाइलटले ककपिटमा नबस्ने अडान लिएपछि यात्रुसमेत चकित भएका थिए।
केहीबेरमा पाइलट स्वयं ककपिटबाट बाहिर आएर को–पाइलटलाई मनाउने प्रयास गरेका थिए। तर को–पाइलटले जान नमानेपछि यात्रुले सम्झाइ–बुझाइ उनलाई भित्र पठाएका थिए। केहीबेर पछि पुनः ती महिला को–पाइलट बाहिर निस्किएकी थिइन् । त्यसपछि केबिन क्रु र यात्रु मिलेर उनलाई फेरि विमान गन्तव्यसम्म पुर्याउन मद्दतका लागि मनाएका थिए।
सो घटनाबारे भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) लाई जानकारी गराइएको बताइएको छ । सो घटनाबारे डीजीसीएले आन्तरिक छानविनको आदेश दिएको छ। तत्कालका लागि पाइटलको लाइसेन्स निलम्बन गरिएको छ भने महिला को–पाइलटलाई ‘ग्राउन्ड अट्याच’ गरिएको छ।
जेट एयरवेजले घटनाको पुष्टि गर्दै भनेको छ, ‘जेट एयरका लागि यात्री, चालक दल र विमानको सुरक्षा अहम् विषय हो। यसमा पूण प्रतिबद्ध नहुने कर्मचारीविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।’ (एजेन्सी)