काठमाडौं, २० पुस। सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। यो खबर हामीले आजको अन्नपूर्ण दैनिकबाट लिएका हौ।
अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ।
मन्त्रिपरिषदले पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरुपता कायम गर्ने निर्णय गरेको हो। पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरुपता कायम हुन सकेन।
नेपालस्थित अमेरिकी दुतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरुपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो।
मन्त्रिपरिषदको निर्णयअनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर) का लागि बहुप्रवेशी (मल्टिपल) भिसा जारी गर्नेछन्। अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा तीन वर्षको बहुप्रवेशी भिसा पाउनेछन्। पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्नेछन् ।