
खोटाङ, १९ पुस।धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा मंगलबार साँझ भएको आगलागीमा चारवटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने तीनवटा घरमा आंशिक क्षति पुगेको छ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्ण रूपमा जलेर नष्ट भएको सायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए।
साँझ साढे ७ बजेबाट शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईको घरमा आंशिक क्षति पुर्याएको नगर प्रमुख इवन राईले बताए । आगो नियन्त्रणमा लिन एउटा घर भत्काइएको थियो।
ग्यास विस्फोट भएर सुरु भएको आगलागी नियन्त्रणका लागि साढे दुई घण्टा लागेको सहायक प्रजिअ सुवेदीले बताए। मगम राईको घरबाट आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
आगो नियन्त्रण गर्न सदरमुकाम दिक्तेल र छिमेकी जिल्ला ओखलढुंगाबाट समेत दमकल मगाइएको थियो। आगो नियन्त्रणमा आएकाले ओखलढुंगाबाट मगाइएको दमकल बाटोबाटै फर्काइएको सुवेदीले जानकारी दिए।
सदरमुकामबाट ३८ किलोमिटर दूरीमा रहेको हलेसीबजारमा भएको आगलागीमा परेर विशाल राई र चन्द्रेश्वर चौधरी सामान्य घाइते भएका छन्।
पीडित परिवारलाई तत्काल राहत र घाइतेलाई उपचारका लागि रेडक्रस र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
(नयाँ पत्रिका दैनिकबाट)