पब्लिक संवाददाता
मङ्लबार, पुस १८, २०७४
0
काठमाडौं, पुस १८। कैदमुक्त भए पनि आफन्तहश्र लिन नआएपछि एक बृद्ध अलपत्र परेका छन्।
जबर्जस्ती करणी अभियोगमा ८ वर्षको कैद सजाय भुक्तान गरेर एक हप्ताअघि विराटनगर कारागारबाट कैदमुक्त भएका नरबहादुर भुजेल नाम बताउने ७३ वर्षीय बृद्ध आफन्तले बेवास्ता गर्दा अलपत्र परेका हुन्।
मोरङको तल्कालीन हरैचा गाविस वडा नम्बर १ घर बताउने ७३ वर्षीय बृद्ध सुस्त मनस्थितिका छन्। आफन्त धरानमा रहेको बताउने उनी विगत एक हप्तादेखि मोरङ कारागारबाहिर आफन्त लिन आउने आसमा कुरेर बसिरहेका छन्।
कैदमुक्त भएपछि उनी आफन्तलाई खोज्दै धरान गएका थिए। तर, धरानको पहिला बसेको ठाउँमा आफन्त नभेटिएपछि उनी फर्किएर फेरि कारागारमै आएका हुन्। आफन्त कोही लिन नआएपछि बृद्धले आफूलाई पुनः कारागारभित्रै राखिदिन जेल प्रशासनलाई आग्रह गर्दै आएका छन्। –नयाँ पत्रिका दैनिकबाट