काठमाडौं,१८पुस। साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारीविहीन भएका छन्। जिम्मेवारी नभएपछि यी मन्त्री सकेसम्म सिंहदरवार जान रुचाउँदैनन्।
कहिलेकाहीँ गए पनि माओवादीको संसदीय दलको कार्यालयमा जाने गर्छन्। विनाविभागीयहरुका लागि छुट्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘कमन रुम’मा उनीहरु जान चाहन्नन्।
१६ विनाविभागीय मन्त्रीका लागि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय भवनमा एउटा साझा कोठा छुट्याइएको छ। तर त्यहाँ विनाविभागीय मन्त्रीहरु एक पटक पनि टेकेका छैनन्।
वर्तमान सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विना विभागीयमन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन्। क्याविनेट तहका ९ मन्त्रीलाई प्रधानमन्त्री कार्यालयका सचिवले मन्त्रिपरिषदको बैठकको अजेन्डा पठाउने गर्छन्।सात राज्यमन्त्रीले त्यो अवसर पनि पाउँदैनन्।
फुर्सदिला भएका विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन्। –नागरिक दैनिकबाट