काठमाडौं १७ पुष। सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर (सडक उपभोक्ता दस्तुर) दोब्बरले वृद्धि गरेको छ। बोर्डले गरेको प्रस्तावमा परिमार्जन गर्दै गत शुक्रबार अर्थ मन्त्रालयले सडक दस्तुर बढाउने बोर्डको प्रस्तावलाई स्वीकृति दिएको छ। यो खबर शिव बोहराले आजको कारोबार दैनिकमा लेखेको छ।
अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रशासन गरेसँगै बढेको शुल्क बोर्डले उठाउने छ।
बोर्डले सडकमा सवारीसाधन चलाएबापत तिर्नुपर्ने दस्तुरलाई करिब पाँच गुणासम्म बढाउने प्रस्ताव गरेको हो। बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक करिब १० करोड रुपैयाँ संकलन गर्दै आएको छ। अब उक्त रकम दोब्बर हुनेछ।
सडक मर्मतमा आवश्यक रकम अपुग भएको भन्दै बोर्डले सडक दस्तुर बढाउने प्रस्ताव गरेको हो । २०५८ सालमा कायम गरिएको दस्तुर हालसम्म वृद्धि हुन सकेको थिएन। सडक बोर्डले गरेको प्रस्तावमा केही परिमार्जन गरि अर्थले शतप्रतिशत वृद्धिका लागि सहमति दिएको अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए।
सडक मर्मतका लागि आवश्यक रकम सडकमा सवारी गुडाएबापत लिइने दस्तुर लामो समयदेखि बढ्न सकेकाले बढाउन प्रस्ताव गरिएको सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञवालीले बताए । “हामीले २०५८ सालदेखि नै राष्ट्र बैंकको वार्षिक मुद्रास्फीतिलाई आधार मानेर ४ गुणासम्म दस्तुर बढाउन प्रस्ताव गरेका थियौं,” उनले भने, “तर अर्थ मन्त्रालयले शतप्रतिशत वृद्धि गर्ने गरि स्वीकृति दिएको राजस्व सचिवले सडक बोर्डको वार्षिक उत्सवमा मौखिक जानकारी गराउनु भएको हो।” बोर्डले हाल हेटौंडा–नारायणगढ, नारायणगढ–बुटवल, नौबिसे–मुग्लिङ र भैरहवा–भूमही सडकखण्डमा मोटरसाइकलको पाँच रुपैयाँ सडक दस्तुर लिने गरेको छ।
अब उक्त सडकमा मोटरसाइकल चलाएबापत १० रुपैयाँ तिर्नुपर्ने छ। अर्थले दिएको सहमति अनुसार अब ३० रुपैयाँ लिने ठाउँमा ६०, ४० रुपैयाँको ठाउँमा ८० रुपैयाँ तथा ३५ रुपैयाँको साटो ७० रुपैयाँ सडक उपभोक्ता दस्तुर संकलन केन्द्रबाट शुल्क उठाउने छ। सडक बोर्डले उठाउने शुल्क सबै ठाउँमा दोब्बर हुनेछ।
बोर्डले उठाएको यस्तो शुल्क जुन सडकबाट संकलन हुने हो, सोही सडक मर्मतमा खर्च गर्ने दाबी गर्दै आएको छ। बोर्डको मर्मतको दायित्व देशभरका राजमार्ग र बाह्रै महिना सवारी चल्ने स्थानीय सडक पनि हुन् । हाल बोर्डले सीमित राजमार्गमा मात्रै यस्तो शुल्क उठाएर सोही क्षेत्रको मर्मतमा खर्च गर्ने गरेको ज्ञवालीले जानकारी दिए।