काठमाडौ१५ पुस।सबै पूर्वाधारसहितको अत्याधुनिक शहर निर्माणको विस्तृत अध्ययन सुरु भएको छ।मेगासिटीको अवधारणासहित शहर निर्माणको लागि अध्ययन सुरु भएको हो।
सात वटा मेगासिटी निर्माण गर्नका लागि अध्ययन सुरु भएको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्मकुमार मैनालीले बताए।मेगासिटीको मोडालिटी तयार गर्न मात्रै तीन वर्ष लाग्ने उनले बताए।सन् २०२१ सम्म कस्तो बनाउने भनी मोडालिटी तयार हुनेछ।मोडालिटी तयार भैसकेपछि आवश्यक पुर्वाधार बनाउन सुरु गरिने मैनालीले बताए।
चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा एकएक वटा मेगासिटी बनाउन अध्ययन गर्ने उल्लेख छ। अहिले प्रदेश नं.६ बाहेकका सबै प्रदेशमा सरकारले मेगासिटी निर्माणका लागि विस्तृत अध्ययन थालेको छ।
यहाँ बन्नेछ मेगासीटी …
१)विराटनगर-इटहरी-धरान
२)बुटवल-भैरहवा-लुम्विनी-कपिलवस्तु
३)पोखरा-दमौली
४)विरगञ्ज-सिमरा-पथलैया
५)हेटौडा-भरतपुर-बर्दघाट
६)नेपालगञ्ज-कोहलपुर
७)धनगढी-गोदावरी
प्रदेश नं ६ बाहेक अन्य सबै प्रदेशमा मेगासिटी निर्माण गर्न लागिएको छ भने ५ नं प्रदेशमा दुर्इवटा मेगासिटी निर्माण गर्न लागिएको हो।अब सङघीय सरकार बनेपछि प्रदेश सरकारको प्राथमिकतामा पनि मेगासिटी निर्माण भर पर्ने विभागका उपमहानिर्देशक मैनालीले जानकारी दिए।
कस्तो हुन्छ मेगासिटी ?
उपमहानिर्देशक मैनालीका अनुसार मेगासिटीमा साना शहरलार्इ गाभेर बनाइन्छ।मेगासिटीमा सबै सुविधा हुन्छ।विकसित मुलुकमा एउटा मेगासिटीमा एक करोड मानिस बस्छन्।
मेगासिटीमा एउटा अत्याधुनिक शहरमा हुने सबै खालका पुर्वाधारहरु हुने विभागले जनाएको छ।मेगासिटीमा औद्योगिक क्षेत्र,बजार,बसोबास,वित्तिय क्षेत्र व्यवस्थित रुपमा निर्माण हुन्छ। अहिले नेपालमा शहरीकरण योजनाबद्ध रुपमा भएको पाइदैन्।योजनाबद्ध शहरीकरणका लागि मेगासिटी निर्माणको अवधारणा ल्याइएको हो।मेगासिटीमा सरकार मात्रै नभर्इ स्थानीय वासिन्दाको समेत लगानीमा निर्माण हुन्छ।
शहरी पुर्वाधार निर्माण गर्न एउटा मेगासिटीलार्इ कम्तीमा ६ अर्व रुपैयाँ बजेट आवश्यक हुने विभागको अनुमान छ।कम्तीमा १० बर्षमा आधारभुत भौतिक पुर्वाधारको विकास गर्ने योजना रहेको उपमहानिर्देशक मैनालीले जानकारी दिए। (बिजमाण्डू)