
दोलखा १४ पुस। सडकमा उड्ने धूलोका कारण दोलखा सदरमुकाम चरिकोट बासीहरुको स्वस्थ्यमा मात्रै नभई दैनिकीमै गम्भीर असर पर्न थालेको छ।
दैनिक १३ सयको हाराहारीमा सवारी आवतजावत हुने सातदोबाटो सडकमा व्यापक धुलो उड्न थालेपछि सडक छेउछाउका व्यापारीलाई त असर परेकै छ, दैनिक कामकाजमा हिडडुल गर्ने बटुवाहरुमा पनि त्यतिकै असर पर्न थालेको छ।
बालबालिका,बृद्धा, ट्राफिक प्रहरी, स्कुल क्याम्पसका विद्यार्थी,सरकारी कामकाजका लागि सदरमुकाम आएका सेवाग्राही लगाएतहरु धुलोको शिकार बन्न पुगेको देखिन्छ।
धार्मिक तथा पर्यटकीय जिल्ला दोलखाको सदरमुकाम चोकको हालत यस्तो भएपछि, आन्तरिक तथा बाह्य पर्यटकमा नराम्रो सन्देश जाने भन्ने कुराको ग्यारेन्टी चाहिँ, यहाँको सडकमा उड्ने हुस्सु जस्तो धुलोले नै बताउछ।
वर्षा सकिएर सुख्खायाम सुरु भएसंगै सडकमा धुलो उडेको पनि दुई महिना भयो,अहिलेसम्म उडेको उड्यै छ,भन्दै स्थानीय हार्डवयर पसलका व्यापारी सोनी थापाले बताईन। उनले भनिन् “स्वासप्रस्वास सम्बन्धि समस्या आएको दुई महिना भईसकेको छ, अहिलेसम्म निको भा छैन।”
हरेक विहान पसलमा जमेको दुई किलो धुलो ईलेक्ट्रिक ब्लोअरले झार्दा पनि, बेलुका पसलको हालत त्यस्तै हुने सातदोबाटो चोकको पान पसले बिष्णु प्रसाद अधिकारले
बताए। सडक विस्तार गर्ने भन्दै लगभग ६ वर्ष अघि जताततै खन्न र भत्काउन थालेदेखि आफुले दैनिक जसो सडकमा उड्ने पाउडर जस्तो धुलोसंगै भिडन्त गरेर व्यापार गरेको बताए।
“नगरपालिका र सडक विभागको गैरजिम्मेवारीपनले गर्दा चरिकोट बासीले धुलो खानुपरेको हो।” गौरीशंकर पोलि क्लिनिकका सञ्चालक सुब्बा खड्काले भने।
खड्काले आफ्नो क्लिनिकमा श्वास प्रस्वाश सम्बन्धिका बिरामी बढ्न थालेको पनि भने।
स्थानीय निकायमा जनप्रतिनिधि निर्वचित भएर आएकै लगभग ९ महिना भएको छ। तर नगरपालिकाको मुटु मानिने चरिकोट बजारमा उडेको धुलोले जनहितको काम कति भएको छ? त्यो छर्लङ्ग देखिन्छ।
साधारणतया सडक विस्तार कार्यले पुर्णता नपाउनु, निर्माण सामाग्री जताततै अव्यवस्थित राख्नु, घडेरी खार्ने लगाएतका कामले चरिकोट धुलाम्य भएको अनुमान गर्न सकिन्छ।
तर सम्बन्धित निकाए मौन बसेर रमिते बन्नु बाहेक अरु केही गरेको छैन भन्ने कुराको पुष्टि चाहिँ सातदोबाटो चोकमा उड्ने धुलोले गरिरहेको देखिन्छ।
पर्यटकीय नगरीमा धुलोले मच्चाएको आतंकलाई न्यूनीकरण गर्न,नगरपालिकाको मुड चलेको बेला अौसीपुर्णी तरिकाले, सडकमा पानी हालेर धुलो शान्त गर्न खोजीए पनि, त्यस्ले दिर्घकालिन समधान भने पक्कै नहुने भन्ने कुराको ज्ञान, आम जनता,सरोकारवाला र सम्बन्धित निकायमा हुनुपर्ने देखिन्छ।