
हुम्ला, १४ पुस। सल्लीसल्ला–छारे सडक निर्माणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट एस्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्याइएको छ। सेनाको हेलिकोप्टरले मंगलबार एस्काभेटरलाई सडक निर्माणस्थलमा पुर्याएको हो। एस्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ। नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट एस्काभेटर सिमकोट लगेको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ।
एस्काभेटर सल्लीसल्ला पुगेसँगै सडक निर्माण सुरु गरेको सडक निर्माणको जिम्मा लिएको सपना निर्माण कम्पनी धुलिखेल जेबीका प्रतिनिधि तेजबहादुर महतले जानकारी दिए । सल्लीसल्लादेखि सिमकोटसम्म ४६ दशमलव ९ किलोमिटर सडक निर्माणका लागि ३५ करोड बजेट विनियोजित भएको र १५ महिनाभित्रै सडकमा सवारी साधन गुडाउन सकिने महतले बताए।
एस्काभेटर निर्माणस्थलमा पुगेसँगै सडक निर्माण सुरु गरेको हिल्सा सडक आयोजनाका सबइन्जिनियर वीरेन्द्र शाहीले बताए । ‘अब जतिसक्यो कामलाई चाँडो सम्पन्न गर्नेछौँ,’ उनले भने । सर्केगाड खोला र छारे पुल निर्माण सम्पन्न भए निर्धारित समयमै सडक निर्माण सकिने शाहीले बताए।
११ किलोमिटरमा गाडी गुड्छ
सिमकोट–खार्पुुखण्डअन्तर्गत ११ किलोमिटर सडकमा सवारीसाधन चल्न थालिसकेको छ । खार्पुुनाथ–सुनखाडा खण्डको सडक निर्माणका लागि पनि टेन्डर आह्वान भइसकेको छ। उक्त सडक खण्डमा झोलुुंगे पुुल परेकाले त्यसलाई कसरी बचाएर अगाडि बढाउने छलफल भइरहेको जनाइएको छ।