
काठमाडौं १४ पुष। नेकपा एमालेले सातवटै प्रदेशमा पार्टीका तर्फबाट समानुपातिक सांसदको नाम तय गरेको छ। हिजै एमालेले प्रदेश सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आयोगले समानुपातिकको सिट संख्या बाँडफाँट गरेपछि एमाले स्थायी समितिको बिहीबारको बैठकले समानुपातिक सांसदको सूचीलाई अन्तिम रुप दिएको हो।
प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकबाट महिलाको क्षतिपूर्ति गरेको छ। ३३ प्रतिशत महिलाको संख्या पुर्याउन १, ३, ५, ६ र ७ नम्बर प्रदेशबाट एमालेले महिलालाई मात्र सांसद बनाएको छ। प्रदेश नम्वर २ र ४ बाहेक अन्य प्रदेशमा एमालेबाट कुनै पनि पुरुषले प्रदेशको सांसद बन्ने मौका पाएनन्।
एमालेले प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट समानुपातिकबाट पाएको थियो। प्रदेशमा ७५ सिट पाएको एमालेबाट ७१ जना महिलाले सांसद बन्ने मौका पाएका छन्। प्रदेश ४ बाट चन्द्रमोहन गौचन तथा प्रदेश नम्वर २ बाट रविन्द्र बैठा र मनोज सिंहले सांसद बन्ने मौका पाएका छन्।