निजी वायुसेवा कम्पनी श्री एयरलायन्सले पनि अन्तर्राष्ट्रिय उडान भर्ने

 पब्लिक संवाददाता      बिहिबार, पुस १३, २०७४      0

काठमाडौँ १३ पुष।  निजी वायुसेवा कम्पनी श्री एयरलायन्सले अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। हाल आन्तरिक उडानको सेवा प्रदान गरिरहेको श्री एयरलायन्सले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरेको हो।

अन्तर्राष्ट्रिय उडान भर्न श्री एयरलायन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको अनुमति मागिसकेको जनाएको छ। अहिले मुलुकभरका विभिन्न पाँचवटा गन्तव्यमा आन्तरिक उडान भरिरहेको निजी वायुसेवा कम्पनी श्री एयरलायन्सले अब सबैभन्दा पहिले छिमेकी मुलुक भारतका क्षेत्रीय विमानस्थलहरूमा उडान भर्ने योजना बनाएको छ।

श्री एयरलायन्सका बजार प्रबन्धक अनिल मानन्धरले छिमेकी मुलुक भारतसँगै अब यस एयरलायन्सले थाइल्यान्डको राजधानी बैंकक र श्रीलंकाको कोलम्बो विमानस्थलमा समेत अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिएको बताए। पर्यटन मन्त्रालयले इजाजत दिएपछि अब आफूहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अन्तर्राष्ट्रिय उडान अनुमति (एओसी) लिने तयारी गरिरहेको जानकारी गराउँदै उनले अहिले श्री एयरलायन्सले मन्त्रालयको निर्णय कुरिरहेको बताए।

अहिले श्री एयरलायन्सले काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा नियमित आन्तरिक उडान भरिरहेको छ। भरतपुर र पोखरा विमानस्थलको धावन मार्ग केही सानो भएका कारण हाल ती गन्तव्यमा आन्तरिक उडान भर्न नसकेको सो एयरलायन्सले जनाएको छ। श्री एयरलायन्ससँग अहिले तीनवटा विमान रहेका छन्। क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमान नै श्री एयरलायन्सले अन्तर्राष्ट्रिय उडान भर्न प्रयोग गर्ने बताएको छ। श्री एयरलायन्ससँग अहिले ७० सिट क्षमतायुक्त एउटा र ५० सिटे दुईवटा विमान सञ्चालित छन्।

हाल आन्तरिक उडान भरिरहेको गन्तव्यबाट मात्रै राम्रो मुनाफा गर्न नसक्ने देखिएपछि श्री एयरलायन्सले सबैभन्दा पहिले भारतमा अन्तर्राष्ट्रिय उडान भर्न लागेको हो।

अब नेपालका थप गन्तव्यमा आन्तरिक उडान भर्न आफूसँग गन्तव्य नै बाँकी नभएका कारण अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिएको मानन्धरले जानकारी गराए। हाल यस एयरलायन्ससँग भएका विमानले नियमित चार घण्टासम्म उडान भर्न सक्छन्। चार घण्टामा श्रीलंका, बैंकक र भारतसम्म पुगिने भएका कारण यी गन्तव्य आफ्नो रोजाइमा परेको सो एयरलायन्सले  बताएको छ।

यसअघि आन्तरिक उडान सञ्चालनका लागि भने उडान अनुमति (एओसी) पाउन सो एयरलायन्सले निकै सास्ती खेप्नुपरेको थियो। गत चैतमा विमान ल्याएको श्री एयरलायन्सले गत साउनदेखि मात्रै आन्तरिक व्यावसायिक उडान थालेको थियो।

अब यस एयरलायन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएपछि मात्र अन्य नयाँ विमान थप्ने योजना बनाएको छ। श्री एयरलायन्स हेलिकोप्टर कम्पनी भए पनि यसले अन्तर्राष्ट्रिय मिसनमा जान लागेका नेपाली सेनालाई समेत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य मुलुकसमेत पुर्याएर सोही ठाउँमा कार्गो उडान भर्दै आएको थियो।

सन् २००९ देखि २०१४ सम्म श्री एयरलायन्सले यस्तो सेवा दिएको थियो । उनले यसअघि हेलिकोप्टरबाट आफूहरूले अन्तर्राष्ट्रिय उडान भरिसकेका कारण नयाँ विमानका लागि पनि सजिलै उडान अनुमति पाउने अपेक्षा गरेको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।