मृगौला,क्यन्सर र स्पाइनल इन्जुरी रोगीहरुले मासिक पाँच हजार भत्ता पाउने

 पब्लिक संवाददाता      बिहिबार, पुस १३, २०७४      0

काठमाडौं, पुस १३। सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण पक्षघात ब्यहोर्न बाध्य बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्ता बिरामीको दैनिक जीवनयापन सहज बनाउन पाँच हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीलगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने रकमको जोहो चुरोट तथा सूर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

यसैगरी मन्त्रिपरिषदले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ। मन्त्रालयकी प्रमुख विशेषज्ञ चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले नेपालको व्यवसायिक शिक्षा र तालिमका लागि विश्व बैंकले दिन लागेको ६ अर्ब २१ करोड ऋण स्वीकार्ने निर्णय पनि गरेको छ । यस्तै, काठमाडौं विश्वविद्यालयका लािग कोरिया सरकारले दिन लागेको १ अर्ब ४ करोड रुपैयाँ लिन स्वीकृति पनि प्रदान गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।