१२ पुष। युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापित सरकारी संस्था हो। यो संस्था सरकारको बजेटबाट चल्छ। युवा स्वरोजगार कोषको स्थापना २०६५ सालको अन्त्यतिर भएको हो। कोषले होलसेल लेण्डिङ अर्थात थोक कर्जा प्रदान गर्छ।
युवा स्वरोजगार कोषले काम गर्ने इच्छाशक्ति र जाँगर भएका तर रकमको अभाव भएकाहरुलाई सहयोग गर्दछ। बिनाधितो कर्जा प्रवाह गर्ने यस कोषले ठूला व्यवसायी बनाउन नसकेपनि केही नभएको अवस्थाबाट नियमित आम्दानी भएको उद्यमी बनाउन सक्छ र थुप्रै युवालाई उद्यमी बनाइसकेको पनि छ ।
बैंक तथा सहकारीहरुसँग सहकार्य
यस्तो कर्जा कोषले सरकारमार्फत नभई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर प्रदान गर्ने गर्दछ । हाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १८ सयभन्दा बढी सहकारी संस्था तथा ८८ वटा बैंक तथा वित्तीय संस्थासँग कारोबार गरिरहेको छ। स्थापनाको सुरुवाततिर युवा स्वरोजगार कोषले बैंकसँग मात्रै सहकार्य गर्दै आइरहेको थियो । यद्यपि, यसबाट बैंक नपुगेका स्थानहरुका युवाहरु स्वरोजगार हुनबाट बञ्चित भएको महशूस गरी सहकारी संस्थाहरुसँग सहकार्य गर्न थालिएको हो।
असल ऋणीको छ प्रतिशत व्याज फिर्ता
कोषले १० प्रतिशत व्याजदरमा प्रत्रिव्यक्ति दुई लाखसम्म कर्जा प्रवाह गर्दछ। कर्जा समयमा नै चुक्ता गरेमा असल ऋणीको रुपमा सम्मानस्वरुप छ प्रतिशत व्याज फिर्ता गरिन्छ। धितो नभएको कर्जा भनेर कतिपय कर्जादाताले भुक्तानीमा ध्यान नदिने गर्छन् । सो अवस्था नआओस भनेर कोषले यस्तो इनाम राखेको हो।
बीमाको व्यवस्था
कोषले प्रवाह गर्ने कर्जाको बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था रहेको छ। पहिलो किस्ताको बीमा नगरेसम्म दोस्रो किस्ता उपलब्ध नगराउने व्यवस्था गरी कर्जादातालाई बीमा गर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ। यसका लागि कोषले विभिन्न बीमा कम्पनीहरुसँग सहकार्य गरेको छ । बीमामा लाग्ने प्रिमियम रकम सरकारले व्यहोर्ने गरेको छ। यस कोषबाट कर्जा लिएका युवाको जीवन बीमाका साथमा व्यवसायको पनि कर्जा रकम बराबरको बीमा गरिन्छ। जसअनुसार, कर्जाअवधिभर व्यक्ति तथा व्यवसायमा क्षति भएमा सम्बन्धित बीमा कम्पनीको नियमानुसार बीमा रकम उपलब्ध गराइन्छ ।
व्यवसायिक तालिम
युवा स्वरोजगार कोषले व्यवसायिक तालिम पनि प्रदान गर्ने गर्दछ । सुरुमा एफएनसीसीआई र चेम्बर अफ कमर्शसँगको सहकार्यमा केषले हरेक जिल्लामा ३।४ लाख युवालाई तालिम दिएको थियो । यद्यपि, हलभित्र बसेर मौखिक रुपमा दिइएको तालिम प्रभावकारी नभएपछि अहिले कोषले कार्यस्थलमा नै गएर व्यवहारिक रुपमा तालिम दिने गरेको छ। केही समयअघि मात्रै कोषले भक्तपूर र ललितपूरमा च्याउखेती तालिम दियो । जसअन्तर्गत च्याउ रोप्नेदेखि विक्री गर्नेसम्मको कार्यहरु व्यवहारिक रुपमा सिकाइयो । त्यस्तै, व्युटिसियन, जुत्ता सिलाउने, झोला बुन्ने लगायतका तालिम पनि व्यवहारिक रुपमा उनीहरुको अगाडी नै गरेर सिकाउँदा प्रभावकारी भइरहेको पाइएको छ।