निर्वाचनपछि घरजग्गा कारोबार निरन्तर ओरालो,

 पब्लिक संवाददाता      बुधबार, पुस १२, २०७४      0

काठमाडौं १२ पुष । काठमाडौं उपत्यकामा पछिल्लो समय घरजग्गाको कारोवार निरन्तर ओरालो लागेको छ।मालपोत कार्यालयले सबैभन्दा बढी राजस्व संकलन हुने मंसिरमा समेत लक्ष्य भेट्याउन सकेनन्।गत महिनामा समेत लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन।स्थानीय तह,प्रदेश र प्रतिनिधीसभाको निर्वाचनपछि उपत्यकाको घरजग्गा कारोबारमा निरन्तर गिरावट आएको हो। ‘मंसिर महिनाको सुरुवातमा घरजग्गा कारोबार बढिरहेको थियो,’ मालपोत कार्यालय डिल्लीबजारका प्रमुख पद्दनिधि सोतीले बिजमाण्डूलाई भने, ‘दोस्रो चरणको निर्वाचनपछि भने कारोबार ठप्पै भयो।’

कारोबार घटेपनि जग्गाको मूल्य भने स्थीर छ।विगत केही महिनादेखि कारोबार संख्यामा निरन्तर कमी आइरहेको छ।यो महिना पनि कारोबार संख्या बढेन भने साना लगानीकर्ताले मूल्य घटाएरै भएपनि जग्गा बिक्री गर्ने सोतीले बताए।

गत मंसिरमा लक्ष्यको १८२ प्रतिशत राजस्व, यो मंसिरमा ९६ प्रतिशत मात्र
मंसिरमा लक्ष्य भन्दा ६ करोड कम राजस्व संकलन भएको छ।मंसिरमा १ अर्ब ४७ करोड राजस्वको लक्ष्य राखिएकोमा १ अर्ब ४१ करोड मात्रै राजस्व संकलन भएको छ।

गत वर्षको मंसिरमा लक्ष्यको दोब्बर राजस्व संकलन भएको थियो।गत वर्षको मंसिरमा एक अर्ब १२ करोड रुपैयाँ लक्ष्य निर्धारण भएकोमा दुई अर्ब ५ करोड रुपैयाँ संकलन भएको थियो। जुन लक्ष्यको १८२ प्रतिशत थियो।गतवर्ष मंसिर सम्मको राजस्व संकलन १ सय ७५ प्रतिशत थियो। ४ अर्ब ४९ करोड रुपैयाँ राजस्व लक्ष्य रहेकोमा ७ अर्ब ९० करोड रुपैयाँ संकलन भैसकेको थियो।

यो वर्ष भने मंसिर महिनासम्म ५ अर्ब ८९ करोड रुपैयाँ राजस्व लक्ष्य रहेकोमा ६ अर्ब ८८ करोड रुपैयाँ मात्र संकलन भएको छ। जुन लक्ष्यको ११२ प्रतिशत मात्रै हो।

उपत्यकाले पनि धानेन
उपत्यकाका मालपोत कार्यालयले पनि राजस्वको लक्ष्य पूरा गर्न सकेनन्।घरजग्गा राजस्वमा उपत्यकाको हिस्सा पचास प्रतिशत भन्दा बढी छ।

मालपोत कार्यालय कार्तिक मंसिर
 २०७३ कार्तिक  २०७४ कार्तिक  २०७३ मंसिर  २०७४ मंसिर
काठमाडौं  १८.४० करोड  १५.१२ करोड  २४.७४ करोड  १३.८४ करोड
ललितपुर  १३.४३ करोड १६.३१ करोड  २०.५४ करोड  १६.७० करोड
 कलंकी  ११.०७ करोड  ९.७९ करोड  १६.२३ करोड  ११.५४ करोड
चावहिल  १०.८८ करोड  ९.८२ करोड  १६.०७ करोड  १०.०६ करोड
भक्तपुर  ९.५८ करोड  ९.२८ करोड  १३.१५ करोड  ८.१३ करोड
 मनमैजु  ५.६१ करोड  ३.७४ करोड  ७.०२ करोड  ३.४८ करोड
 साँखु  ३.०३ करोड  ४.१५ करोड  ५.२८ करोड  २.९४ करोड
 टोखा  नभएको  २.४४ करोड  नभएको  २.१३ करोड
जम्मा ७२.०५ करोड ७०.३७ करोड १०३ करोड ६८.८७ करोड

उपत्यकाको काठक्षेत्रमा पनि राजस्व घट्नुमा घरजग्गाको जथाभावी प्लटिङ र कित्ताकाटमा समेत रोक लगाउने सरकारी निर्णयको प्रभाव रहेको मालपोत कार्यालय साँखु प्रमुख किरणकुमार भट्टराईले बताए।

उपत्यकामा साना लगानीकर्ता भूमिकाविहिन भएका छन्। उनीहरु घरजग्गाको कारोबार संख्या बढाउन सक्दैनन्। ठूला लगानीकर्ता अहिले कारोबार गरेका छैनन्।भट्टरार्इका अनुसार राजस्व संकलनमा कमी आउनुको मूख्य कारण ठूला जग्गा व्यापारीले कारोबार नगर्नुनै हो।

मूल्यांकन बढाउँदा पनि राजस्व बढेन्
यो मंसिरमा काठमाडौं मालपोत कार्यालय डिल्लीबजारले १३ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भन्दा राजस्व संकलन आधा कम भएको छ। गतवर्ष २४ करोड राजस्व उठेको थियो।

ललितपुर मालपोत कार्यालयले १६ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जुन गतवर्षको २० करोड ५४ लाख रुपैयाँ करिब ५ करोड रुपैयाँले कम हो।कलंकी मालपोत कार्यालयले ११ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्ष १६ करोड राजस्व संकलन भएको थियो।चावहिल मालपोत कार्यालयले पनि १० करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। गत वर्षको १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

अन्य मालपोत कार्यालयहरुमा भक्तपुरले गत वर्षको १३ करोडबाट घटेर ८ करोड १३ लाख रुपैयाँ, मनमैंजुको सात करोड बाट घटेर तीन करोड ४८ लाख रुपैयाँ र साँखुको पाँच करोड रुपैयाँबाट घटेर दुई करोड ९४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छन्।गत वर्षको मंसिरमा दुई अर्ब पाँच करोड रुपैयाँ कुल राजस्व मध्ये एक अर्ब तीन करोड रुपैयाँ उपत्यकाबाट मात्र संकलन भएको थियो। जुन कुल राजस्वको ५० प्रतिशत भन्दा बढी थियो।

यो वर्ष मंसिरमा भने एक अर्ब ४१ करोड मध्ये ६८ करोड ८७ लाख रुपैयाँ राजश्व मात्र उपत्यकाबाट संकलन भएको छ। जुन कुल राजस्व करिव ४८ प्रतिशत मात्र हो।उपत्यकामा गत वर्षको भन्दा ३५ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो। देशभरमा भने गत वर्षको मंसिरको तुलनामा यो वर्ष ६५ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ।

(बिजमाण्डूबाट) 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।