अलैंचीको मूल्यमा सुधार,किसान र व्यापारीमा उत्साह

 पब्लिक संवाददाता      बुधबार, पुस १२, २०७४      0
फाइल तस्बिर

फिदिम १२ पुष । पूर्वी पहाडका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको अलैंचीको मूल्यमा सुधार आएको छ। यो वर्ष उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा केही वृद्धि भएपछि किसानको मुहारमा खुसी छाएको छ।यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ।

फिदिम बजारमा अहिले अलैंची प्रतिमन ३३ हजारदेखि ३७ हजार रुपैयाँसम्म कारोबार हुन थालेको छ। उच्च गुणस्तरको अलैंची प्र्रतिमन ३७ हजार रुपैयाँमा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले जानकारी दिए। ‘साता दिनयता अलैंचीको मूल्यमा सुधार आएको छ’, अध्यक्ष अधिकारीले भने, ‘मूल्यमा सुधारले किसान र व्यापारीमा उत्साह थपेको छ।’ घटेको मूल्यमा प्रतिमन १२ हजार रुपैयाँ वृद्धि भएपछि किसान खुसी भएका हुन्।

विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्ष सुरुआतमा २५ हजारमा झरेको थियो। मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका थिए। ‘मूल्यमा सुधारले केही आशा पलाएको छ’, फालेलुङका जनकलाल राईले भने, ‘यो मूल्यमा अझै सुधारको खाँचो छ।’

अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको व्यापारी बताउँछन्। ‘मूल्यमा अझै सुधार आउन सक्ने सम्भावना छ’, अधिकारीले भने, ‘नेपालको अलैंचीको मूल्य निर्धारणमा भारतकै भर पर्नुपर्ने भएकाले ठोकुवाचाहिँ गर्न सकिन्न।’

कृषिउपज निर्यातमा सबैभन्दा ठूलो हिस्सा अलैंचीले ओगटेको छ। ‘कालो सुन’को नामले चिनिएको अलैंचीखेतीसँग किसानको प्रतिष्ठा जोडिएकाले पहाडमा यसलाई विशेष रूपमा हेर्ने गरिएको छ। जिल्लामा अलैंची निर्यातबाट करोडौं रकम भित्रिने गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।