काठमाडौं ९पुस| नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले पुस २ गते आइतबार सैनिक सेवा प्रवेशको ३६ औं वर्षगाँठको अवसरमा ‘ब्याचमेट’ सहित जंगी पोशाकसहित तस्बिर फेसबुकमा पोस्ट गरे ।
रथी थापा, मानार्थ उपरथी डा. रमीन्द्र क्षेत्री लगायत उच्च सैनिक अधिकारीहरू सैनिक पोशाकमै उक्त तस्बिरमा देखिन्छन् ।गत मंसिर २ गते शनिबार वलाध्यक्ष रथी हेमन्त कुँवरले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग सैनिक पोशाककै तस्बिर फेसबुकमा पोस्ट गरे । उपरथीबाट रथीमा बढुवा भएको अवसरमा रथी कुँवरले प्रधानसेनापति क्षेत्रीको परिवारसँग आफू र आफ्नो परिवारका सदस्य सहभागी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका हुन् ।
मंसिर २९ गते नै उपरथी शरद गिरीले फेसबुक प्रोफाइलमा कार्यालय पोशाकमा लगाइने उपरथी दर्जाको पोशाकसहितको तस्बिर राखेका छन् ।
भदौ ३१ गते अर्का उपरथी देव सुवेदीले नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ उद्घाटनमा आएका भारतीय स्थल सेनाका ‘लेफ्टिनेन्ट जनरल’ जगदीपकुमार शर्मा र दुवै देशका सैनिक अधिाकरीहरूसँग फौजी पोशाकमै खिचिएको तस्बिर पोस्ट गरे । सुवेदीले फेसबुककै ‘प्रोफाइल’मा समेत फौजी पोशाकमै धर्मपत्नीसँग खिचिएको तस्बिर राखेका छन् ।
यसबाट के पुष्टि हुन्छ भने सैनिक सेवामा रहेका उच्च पदस्थ अधिकारीहरू पनि सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय छन् । तर, नेपाली सेनाले बनाएको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आन्तरिक आचारसंहिताको भने उनीहरूले कुनै ख्याल गरेको देखिँदैन।
सैनिक सेवामा रहेक जुनसुकै दर्जाका कर्मचारी भए पनि फेसबुक, ट्वीटर, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालमा जंगी पोशाकसहितका तस्बिर पोस्ट गर्न वा कुनै टिका–टिप्पणी गर्न निषेध गरिएको छ ।
आफ्नो परिचय खुल्नेगरी सामाजिक सञ्जालमा खोलिएका अकाउन्टमा संगठनको अनुमतिबेगर वर्दीधारी पोशाक, निजी विचार, लेख तथा रचना पोस्ट गर्न पाइँदैन। तर, आचारसंहिता उल्लंघनमा भावी प्रधानसेनापतिका एक्ला दावेदार थापादेखि तल्लो तहका सैनिक कर्मचारीसम्म अग्रपंक्तिमा देखिएका छन्। वलाधिकृत रथी थापा अगामी भदौ तेस्रो साताबाट प्रधानसेनापति बन्ने लाइनमा छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहाल संगठनको स्वीकृति बेगर कुनै पनि सैनिक कर्मचारीले सामाजिक सञ्जालमा फौजी पोशाकमा रहेका तस्बिर, निजी विचार तथा टिकाटिप्पणी गर्न नपाइने बताउँछन् ।
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिताले समेत सबै तहका सैनिक कर्मचारीलाई निजी विचार वा जंगी पोशाक झल्कनेगरी तस्बीर पोस्ट गर्न नपाइने उनको भनाइ छ।
“सामाजिक सञ्जाल प्रयोगसम्बन्धी तयार पारिएको आन्तरिक आचारसंहिताले सबै तहका सैनिक कर्मचारीलाई निश्चित दायरामा बाँधेको छ,” सेनाका प्रवक्ता दाहाल भन्छन्, “कसैले आचारसंहिता उल्लंघन गरेको पाइए सचेत गराउने, सम्झाउनेदेखि विभागीय कारबाहीसम्म हुनसक्छ।” अरु व्यक्तिले पोस्ट गरिदिएका सामग्रीमा भने आचारसंहिता आकर्षक नहुने प्रवक्ता दाहालले स्पष्ट पारे ।
आचारसंहिता उल्लंघनमा जुनसुकै तहका सैनिक कर्मचारी रहेको पाइए कानुनी दायरामा ल्याइने उनले बताए ।
आचारसंहिता उल्लंघनमा संलग्न व्यक्तिलाई नै पत्र काटेरै फेसबुकमा पोस्ट गरिएका त्यस्ता तस्बिर तथा धारणा मेटाउन निर्देशन दिने र अटेर गरिए विभागीय कारबाहीका लागि सिफारिस गरिने उनको भनाइ छ।
प्रधानसेनापति क्षेत्रीले पनि आन्तरिक बैठकमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिताको कडाइका साथ पालना गर्न निर्देशन दिँदै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले पनि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता लागू गरिसकेको छ।
दुवै सुरक्षा निकायले केन्द्रमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता कार्यान्वयन भए–नभएको निगरानी गर्न ‘सामाजिक सञ्जाल निगरानी’ सेल नै गठन गरेका छन् । प्रहरी र सशस्त्र मुख्यालयले आचारसंहिता उल्लंघन गर्नेलाई सचेत गराउनेदेखि विभागीय कारबाहीसमेत गरिएको जनाएका छन् ।
(कारोबर दैनिक बाट)