संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ कडा प्रतिबन्ध लगायो

 पब्लिक संवाददाता      शनिबार, पुस ८, २०७४      0

न्युयोर्क/एजेन्सी– संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ कडा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणकाविरुद्धमा अमेरिकाको प्रस्तावमा सुरक्षा परिषदले सर्वसम्मतिमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।

अमेरिकाले तयार पारेको सो नयाँ प्रतिबन्धको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउनेसहितका योजनाहरु सामेल गरिएको छ । उत्तर कोरियाविरुद्धको यो प्रतिबन्धनका पक्षमा रुस र चीनले समेत मतदान गरेका छन् ।

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्नुपर्ने भन्दै सुरक्षा परिषदले लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइरहेको छ ।

उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्याउनका लागि अमेरिकाले सन् २००८ देखि नै प्रतिबन्धहरु लगाउँदै आएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले प्रतिबन्धले प्योङयाङको थप अवज्ञाले थप दण्ड दिन तथा एक्ल्याउने दिशातर्फ लग्ने स्पष्ट सन्देश दिएको टिप्पणी गरेकी छन् ।

यसैगरी राष्ट्रसंघका लागि चिनियाँ राजदूतले यो प्रस्ताव सर्वसम्मतिले पारित हुनुले उत्तर कोरियाको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय समुदायको सर्वसम्मत धारणा रहेको देखिएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वले मृत्यु नभई शान्ति चाहेको भन्दै प्रतिबन्धको स्वागत गरेका छन् ।

उत्तर कोरियाको आणविक कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा लामो समयदेखि तनावको अवस्था सिर्जना हुँदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।