कालिकोट,८ पुष। गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि भड्किएको हिंसाले उग्ररुप लिएपछि शनिबार अनिश्चितकालीन कफ्र्यु लगाइएको हो। ऐडीको शुक्रबार प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो।
ऐडीको मृत्युपछि भड्किएको हिंसा नियन्त्रण र घटनाको वास्तविकता बुझ्न कालिकोट आएका क्षेत्रीय प्रशासक सुरेशमान प्रधान, नेपाल प्रहरीका डीआईजी सुरेशविक्रम शाह र राष्ट्रिय अनुसन्धान विभागका डीआईजी टेकेन्द्रबहादुर कार्कीसहितको टोलीसँग आन्दोलनरत म्यादी प्रहरीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे र जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोरामाथि कारबाहीको माग राखेका थिए। यसअघि उनीहरुले प्रमुख जिल्ला अधिकारी गैरे र डीएसपी बोहोरासँग वार्ता नै नगर्ने अडान लिएका थिए।
तर, उच्चपदस्थ अधिकारी सम्मिलित शनिबारको बैठक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र गोली हान्ने प्रहरीमाथि कारबाही गर्न सहमत नभएपछि आन्दोलनरत म्यादी प्रहरी थप उग्र भएका थिए। प्रशासनमा वार्ता चलिरहेका बेला आन्दोलनकारीले प्रशासनको गेटमा टायर बाल्ने र नारा जुलुस गर्न थालेपछि प्रशासनले शनिबार थप अश्रुग्यास र लाठीचार्ज गरेको थियो। लाठी प्रहारबाट दुई दर्जनभन्दा बढी आन्दोलनकारी र स्थानीयवासी घाइते भएका छन्। शनिबारको उच्चपदस्थ अधिकारी सम्मिलित वार्तामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित दुर्गबहादुर रावत, प्रदेश सभा सदस्य निर्वाचित कुर्मराज शाही, विभिन्न दलका प्रतिनिधि, व्यापारी र उद्योग वाणिज्य संघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
कर्फ्यु जारी रहेकै बेला आन्दोलनकारीसँग पुनः वार्ता भएको थियो। सो वार्तामा प्रशासन र आन्दोलनरत पक्षबीच चार बुँदे सहमति भएको छ । जसमा म्यादी प्रहरी ऐडीको मृत्युबारे सत्य तथ्य छानविन गरी दोषी सबैलाई हदैसम्मको कारबाही गर्ने, म्यादी प्रहरीले पाउने सेवा सुविधाका विषयमा उच्चस्तरीय छानविन टोली गठन हुनुपर्ने, मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने र मन्त्री परिषदको निर्णय गराई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने, आन्दोलनका क्रममा घाइते भएका सबैलाई राज्यले निःशुल्क उपचार गर्नुपर्नेलगायत छन्।
शुक्रवार भएको आन्दोलनमा प्रहरीको गोली लागेर शान्नीत्रिवेणी गाउँपालिका–४ घर भई हाल रास्कोट नगरपालिका–२ बस्दै आएका विवेक ऐडीको मृत्यु भएको थियो । शान्तिपूर्ण प्रदर्शन गरिरहेका म्यादी प्रहरीमाथि प्रहरीले सुरुमै गोली र असु्रग्यास प्रहार गर्दा कालिकोट तनावग्रस्त भएको हो।