अध्यादेशमा दलीय धारणा बाझिएकाले सहमति जुटाएर आउ:राष्ट्रपति

 पब्लिक संवाददाता      शनिबार, पुस ८, २०७४      0
फाईल तस्बिर

काठमाडौं, ८ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमा दलीय धारणा बाझिएकाले सहमति जुटाएर आउन कांग्रेस नेताहरूलाई सुझाब दिएकी छिन्। ‘अहिलेसम्म तपाईंहरूले सहमतिबाटै जटिलता फुकाउँदै आउनुभएको छ।

शुक्रबार प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने क्रममा सो कुरा भनेकी हुन्।राष्ट्रपतिले भनिन्,’अध्यादेशमा देखिएको फरक–फरक धारणामा पनि सहमति गरेरै आउनुस्। तपाईंहरूले जे सहमति गर्नुहुन्छ त्यहीअनुसार अघि बढ्छु।’

उनले राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा दलहरूबीच फरक–फरक धारणा आएको र व्याख्या भएकाले रोकिएको संकेत दिएकी थिइन्। आफूले एमाले र माओवादी नेतासँग छलफल गरेको बताउँदै उनले छिटै राजपा र संघीय समाजवादीसँग पनि छलफल गर्ने जानकारी दिएकी थिइन्।

कांग्रेस नेताको कुरा सुनेपछि राष्ट्रपतिले ‘तपाईंहरूले धेरै कुरा बुझाउनुभयो’ भन्दै एक–दुई दिन छलफल र परामर्शपछि अध्यादेशको विषय टुंगिने संकेत दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए। कांग्रेसका एक नेताले भने, ‘यसकारण अब अलमल नगरी अघि बढौँ भनेका छौँ। यसमा राष्ट्रपति सकारात्मक भएको पाएका छौँ। अब केही दिनमा उहाँले अध्यादेश जारी गर्नुहुन्छ। र, राष्ट्रिय सभा गठन र नयाँ सरकार गठनको बाटो खुल्छ।’

राष्ट्रिय सभा पहिले गठन नगर्ने हो भने सबै दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व संघीय संसद्मा नहुने कांग्रेसको दाबी छ। ‘सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि राष्ट्रिय सभा गठनको बाटो खुल्ने र संघीय संसद्का दुवै सदनमा सबै दलबाट एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित हुने कुरा राष्ट्रपतिलाई खुलस्त बताएका छौँ।’

राष्ट्रपतिसँगको भेटमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले भने,‘पहिले राष्ट्रिय सभा गठन नगरी प्रतिनिधिसभा गठन हुँदा सबै दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित नहुने कुरा राष्ट्रपतिलाई प्रस्ट पारेका छौँ। यसका लागि अध्यादेश प्रमाणीकरण गरी राष्ट्रिय सभा गठन र सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छौँ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।