काठमाडौं ७ पुस, मंसिर १० र २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट सातवटै प्रदेशमा गरी १३ दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगले सात प्रदेशका ७७ जिल्लाका २ सय २० निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गर्दै १३ दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने गरी समानुपातिकतर्फको सिट टुंगो लगाएको हो।
आयोगले शुक्रबार साँझ कान्तिपथस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर देशका सातवटै प्रदेशका २ सय २० प्रदेशसभाका लागि समानुपातिक प्रणालीतर्फ दलहरूले पाएका मतका आधारमा सिट बाँडफाँट गरेको हो।
आयोगले टुंगो लगाएको सिट बाँडफाँटअनुसार प्रदेश १, ३, ४, ५ र ६ मा नेकपा एमाले पहिलो बनेको छ भने प्रदेश ७ मा एमाले र कांग्रेसले बराबरी (८) सिट पाएका छन् । प्रदेश २ मा भने नेपाली कांग्रेस पहिलो भएको छ।
सातवटै प्रदेशको समग्र परिणाममा भने एमाले र कांग्रेस नजिक–नजिक छन्। सातै प्रदेशमा गरी एमालेले ७५ सिट पाउँदा कांग्रेसले ७२ सिट पाएकोे छ। आयोगका अनुसार प्रदेश १ मा समानुपातिक निर्वाचनमा सहभागी २७ दलमध्ये ६ दल निर्वाचित भएका छन्। यस्तै, प्रदेश २ मा २९ दल निर्वाचनको मैदानमा रहेकोमा ६ दल मात्रै निर्वाचित भएका छन्।
यसैगरी, प्रदेश ३ मा ३१ दलमध्ये ७, प्रदेश ४ मा २० दलमध्ये ५, प्रदेश ५ मा २७ दलमध्ये ६, प्रदेश ६ मा १८ दल निर्वाचनको मैदानमा सहभागी रहेकामा ४ दल निर्वाचित भएका छन्। यसैगरी, प्रदेश ७ मा २० दल चुनावी मैदानमा रहेकोमा ४ दल मात्रै निर्वाचित भएका हुन्।
आयोगले दलहरूलाई प्रदान गरेको सिटको विवरणअनुसार सातै प्रदेशमा गरी नेकपा एमालेले ७५ सिट प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ७२ सिट पाएको छ भने माओवादी केन्द्रले ३५ सिट प्राप्त गरेको छ।
यसैगरी, संघीय समाजवादी फोरम नेपालले १३ सिट, राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सिट, विवेकशील साझा पार्टीले ३ सिट, नयाँ शक्ति पार्टीले १, राष्ट्रिय जनमोर्चा २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, नेपाल संघीय समाजवादी पार्टी १, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ सिट पाएका छन्।
आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौडेलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीमार्फत दलहरूले प्राप्त गरेको मतका आधारमा दलहरूको सिट संख्या निर्धारण गरिएको बताए।
‘सातै प्रदेशका प्रदेशसभातर्फ कुल २ सय २० सिटका लागि दलहरूले पाएका समानुपातिक निर्वाचन प्रणालीको मतका आधारमा सिट संख्या निर्धारण गरिएको हो,’ सचिव पौडेलले भने ।
जसअनुसार प्रदेश १ को ३७ सिटका लागि भएको निर्वाचनमा नेकपा एमालेले १५ सिट पाएको छ । यस्तै, नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरम नेपालले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् ।
यस्तै, प्रदेश २ का ४३ सिटका लागि भएको निर्वाचनमा नेकपा एमालेले ७, कांग्रेसले ११, माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरम नेपालले ९, राष्ट्रिय जनता पार्टी नेपालले १० र नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएका छन्।
यसैगरी, प्रदेश ३ को ४४ सिटअन्तर्गत एमालेले १६, कांग्रेसले १४, माओवादी केन्द्रले ८, राप्रपाले १, विवेकशील साझा पार्टीले ३, नेपाल मजदुर किसान पार्टीले १, राप्रपा (प्रजातान्त्रिक) ले १ सिट प्राप्त गरेका छन्।
यस्तै, प्रदेश ४ को २४ सिटअन्तर्गत एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३, नयाँ शक्ति पार्टी नेपालले १ र राष्ट्रिय जनमोर्चा १ सिट पाएका छन् । प्रदेश ५ मा ३५ सिटका लागि भएको निर्वाचनमा एमालेले १३ सिट पाएको छ भने कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राजपाले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।
यस्तै, प्रदेश ६ तर्फ १६ सिटका लागि भएको निर्वाचनमा एमालेले ६, कांग्रेसले ५, माओवादी केन्द्रले ४ र राप्रपाले १ सिट पाएका छन् । यसैगरी, प्रदेश ७ तर्फ २१ सिटका लागि भएको निर्वाचनमा एमालेले ८, कांग्रेसले ८, माओवादी केन्द्रले ४ र राजपाले १ सिट प्राप्त गरेका छन् ।
प्रदेशसभातर्फ कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्नुपर्ने गरी दलका लागि प्रदेशसभातर्फ थ्रेस होल्ड कायम थियो । प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले सोही व्यवस्थाअनुसार नै परिणाम सार्वजनिक गरेको हो ।
उम्मेदवार तोक्न पत्राचार
निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक मतका आधारमा दलहरूको सिट संख्या तोकेसँगै दलहरूलाई उम्मेदवारको नामावली पठाउन पत्राचार गर्ने भएको छ ।
आयोगले दलहरूले निर्वाचनअघि समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार हुने गरी सात दिनको समय दिएर उम्मेदवारको नाम पठाउन दलहरूलाई पत्र पठाउने तयारी गरेको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले बताएका हुन् ।
दलहरूले सो सूचीअनुसार उम्मेदवारको नामावली पेस गर्दा बन्दसूचीभित्र प्राथमिकताका आधारमा पहिले नै बुझाएबमोजिम समावेशी सिद्धान्तअनुसार नै नामावली आयोगमा बुझाउनुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
अब दलहरूले समावेशिताका आधारमा आफूले पठाउने उम्मेदवारको टुंगो लगाउनेछन् । आयोगले दलहरूका लागि दिएको समयभित्र दलहरूले आफ्नो तर्फबाट बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा उम्मेदवारको नाम पठाउनेछन् ।
यसपछि उम्मेदवारको नामसमेत समावेश गरी आयोगले समानुपातिकतर्फ निर्वाचित भएका उम्मेदवार घोषणा गर्नेछ । त्यसपछि सो नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाउनेछ भने निर्वाचित उम्मेदवारको नाम राजपत्रमा प्रकाशितसमेत गर्नेछ ।
प्रतिनिधिसभा तयारीमै
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको २ सय २० सिटको दलहरूले पाउने भागको टुंगो लगाए पनि प्रतिनिधिसभातर्फको अझै टुंगाएको छैन ।
सचिव पौडेलका अनुसार प्रतिनिधिसभातर्फको समानुपातिकको सिट टुंगो लगाउन अझै केही दिन लाग्नेछ। त्यसका लागि आयोगले काम गरिरहेको उनले जानकारी दिए।
आयोगका प्रवक्ता नवराज ढकालले पहिले प्रदेशसभाको सकेर त्यसपछि मात्रै प्रतिनिधिसभातर्फको चेकजाँच भइरहेकाले अझै केही दिन लाग्ने बताए। (राजधानी दैनिक)