आगलागीबाट क्षति भएको सुपर ग्यास उद्योगको बिमा सगरमाथा इन्स्योरेन्समा,

 पब्लिक संवाददाता      शुक्रबार, पुस ७, २०७४      0

काठमाडौं ७ पुस। बुधवार बिहान आगलागी भएको सुपर ग्यास उद्योगको  बिमा  सगरमाथा जनरल इन्स्योरेन्स कम्पनीमा रहेको पाइएको छ।

बिमा कम्पनीमा उद्योगको मात्र दुर्इ करोड सात लाख रुपैयाँ बराबरको बीमा गराएको छ।

सगरमाथाका प्रमुख कार्याकारी अधिकृत चंकी क्षेत्रीले उद्योगका साथै एउटा गाडीको  पनि बीमा भएको बताए। तर आगलागीमा परेको गाडी उद्योगको नभइ अरुकै रहेको क्षेत्रीले जानकारी दिए।

संयोग नै  भन्नु पर्छ, कम्पनीका सञ्चालकले उद्योगमा आगलागी हुनु तीन दिनअघि मात्र बीमा गराएका थिए।
बीमा गरेका कारण सञ्चालकले ठूलो आर्थिक नोक्शानी ब्यहोर्नु नपर्ने भएको छ।
उद्योगको बीमा समय मंगलबार सकिँदै थियो। आगलागी भोलीपल्ट बुधबार भयो। तर कम्पनीले आगामी बर्षको बीमाको शुल्क आइतबारै बुझाइसकेको थियो।

यदि उद्योगले बीमा नवीकरण नगराएको भए सबै सम्पतिको क्षति आँफैले ब्यहोर्नु पर्ने थियो। उद्योगले सगरमाथा इन्स्योरेन्ससँग विगत तीन वर्षदेखि बीमा गर्दै आएको छ।

आगलागी भए लगत्तै बीमा कम्पनीले बुधवार नै आफ्नो सर्वेयर खटाएर क्षतिको मुल्याङ्कन गर्ने काम सुरु गरिसकेको छ। मुल्याङ्कनपछि थप अध्ययन गरी चाँडोभन्दा चाँडो दाबी भुक्तानी गर्ने बिमाका कार्यकारी प्रमुख क्षेत्रीले जानकारी दिए।
‘उद्योगले जतिछिटो आवश्यक कागजपत्र उपलब्ध गराउँछ, त्यति नै चाँडो दाबी भुक्तानी गर्छौं’ क्षेत्रीले भने।

उद्योगको मात्र करिव दुर्इ करोड रुपैयाँ भन्दा केही बढी क्षति भएको हुँदा बीमाबाट क्षतिपुर्ती हुने कम्पनीका संचालक अव्दुल खयर अन्सारीले बताए।
मोटरको छुट्टै बीमा गरिएको हुँदा उद्योगले धेरै आर्थिक क्षति बेहोर्नु नपर्ने अन्सारीले बताए। ‘बीमाप्रति चनाखो भएको हुँदा हामी धेरै ठुलो आर्थिक क्षतिबाट बच्यौं’ उद्योगका ब्यवस्थापक दिवाकर झाले भने।

वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा गत बुधबार आगलागी हुँदा झण्डै दुर्इ करोड रुपैयाँभन्दा बढिको क्षति भयो। यसबाहेक दुर्इ वटा गाडी तथा भारतबाट आएको चार वटा ग्यास ओसार्ने वुलेट पनि जलेर नष्ट भए। त्यस्तै आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए।
जलेका दुई भारतीय ट्याङ्करको पनि भारतीय कम्पनीले नै बीमा गराएको हुन्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।