
वासिंटन, ७ पुस । संयुक्त राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गरेको छ।
प्रस्ताव अस्वीकार गर्नेमा १२८ मुलुक थिए भने समर्थन गर्नेमा जम्मा ९ वटा मुलुकमात्रै रहे। अरु ३५ मुलुक मतदानमै उपस्थित भएनन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी निर्णयको विपक्षमा उभिने मुलुकलाई आर्थिक सहयोग नै रोक्ने धम्की दिएका थिए।
मतदानपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यो प्यालेस्टिनीहरुको जित भएको बताए। उता, इजरायली प्रधानमन्त्री बेन्जामीन नेत्यान्याहुको कार्यालयले महासभाको निर्णय अस्वीकार गर्ने जनाएको छ।
क्यानडा र मेक्सिको मतदानमा अनुपस्थित रहँदा फ्रान्स, बेलायत, जर्मनी र जापानजस्ता अमेरिकीनिकट सहयोगी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका थिए।
प्रस्ताव बाध्यकारी नमानिए पनि ट्रम्प प्रशासनकालागि यो निकै ठूलो धक्का हो। अरब र मुस्लिम देशहरुको मागबमोजिम १ सय ९३ सदस्यीय महासभाको आपत्कालिन सत्र बोलाइ यसबारे निर्णय लिइएको हो।
मस्यौदा प्रस्तावमा जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएको छ। यसै महिनाको शुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको मान्यता दिएपछि विश्वभरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो। नेपाल, भारत, चीन जस्ता मुलुकले पनि प्रस्तावको विपक्षमा मत दिएका छन्। (एजेन्सी)