काठमाडौँ, ७ पुष। नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्ने दर्जनौं आयोजनाहरूमा कमसल काम गर्ने ठकेदारसँगको मिलेमतोमा गुपचुप ठेकदारलाई रकम भुक्तानी गर्ने गरेको पाइएको छ । रामेछापको मन्थली विमानस्थलको धावनमार्गको कालोपत्रे निर्माण सम्पन्न भएको दुई महिनामै भत्किएको विषय नागरिक उड्डयन प्राधिकरण नेतृत्वले गुपचुप राखेर टालटुलकै भरमा भुक्तानी दिएको खुलासा भएको छ।
ठेकेदार कम्पनीले धावनमार्ग कालोपत्रे गरेपश्चात् प्राधिकरण नेतृत्वले हतारमा भुक्तानी दिएको खुलेको हो । मन्थलीमा रहेको उक्त विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको दुई महिनामै चिरा–चिरा भएर फाटेको विषय नेतृत्वले समयमै थाहा पाए पनि मिलेमतोमा रकम भुक्तानी गरेको खुलेको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७०-०७१ को वार्षिक बजेटमार्फत् ४ करोड २५ लाख ९८ हजार रुपैयाँ खर्च गरेर कालोपत्रे गरेको थियो । नियमित उडान नहुने विमानस्थलमा पनि हतारहतार गरिएको कालोपत्रे दुई महिनामै टालटुल पारिएर सञ्चालनमै राखिएको समेत पाइएको छ। प्राधिकरणले कालिका थोदुङ जेभि निर्माण कम्पनीलाई कालोपत्रेको जिम्मा दिएको थियो।
प्राधिकरण र निर्माण कम्पनीबीच ०७० पुस ११ गते निर्माण सम्झौता भएको थियो भने ०७० कै पुस २५ गतेबाट काम थालेको थियो। ०७१ चैत १० गते निर्माण सम्पन्न गरेको पाइएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको दुई महिनामै पार्किङ–वे, धावन मार्गलगायत क्षेत्र भत्किएको थियो।
भत्किएपछि निर्माण कम्पनीलाई कारबाही गर्नुको सट्टा टालटुल पारेर रकम भुक्तानी दिएको समेत भेटिएको छ। उक्त समयमा गुपचुप राखिएको विषय ०७३ सालमा पुनः ब्युँतिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत उक्त कुराको जानकारी आएपछि पुनः प्राधिकरणले ठेकेदार कम्पनीलाई ०७३ जेठमा टालटुल पार्न भने पनि जेठ ३० गते सबै ठाउँमा टालटुल पारेर बुझाइएको थियो।
धावनमार्गको उत्तरी छेउमा ३ ठाउँमा निर्माण सम्पन्न भएको केही दिनमै पुनः टालेको देखिन आएको थियो । त्यसपछि प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त टोलीले अवलोकन गर्दा पनि नयाँ कालोपत्रे भनिए पनि टालटुल पारिएको थियो भने दुई भागमा धावन मार्गसमेत छुट्टिएको थियो। प्राधिकरण स्रोतका अनुसार पछिल्लो समय विमानस्थल निर्माण भन्दा पनि संरचना कमसल खालको बनाएर कमिसन लिने प्रवृत्ति बढेको छ।
“काम राम्रो भन्दा पनि ठेकेदारबाट कति कमिसन लिन सकिन्छ भन्नेमा ध्यान गएकोले धेरै आयोजनामा निर्माण भएका संरचनामा समस्या रहेको छ,” स्रोतले भन्यो । प्रत्येक आयोजनामा ठेक्का लिने ठेकेदारहरूले १० प्रतिशत रकम पहिले नै बुझाउने गरेको समेत प्राधिकरणकै एक उच्च अधिकारीले बताए। प्राधिकरण नेतृत्वले आयोजना प्रमुखहरूले खुलेआम नक्कली काम गर्दा समेत कारबाही नगर्नुले मिलेमतो हुनसक्ने समेत स्रोतको दाबी छ।
मन्थली विमानस्थल कालोपत्रेको विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। विमानस्थल धावनमार्ग कालोपत्रे गरेको समयको सम्पूर्ण कागजपत्र आयोगले नियन्त्रणमा लिएको बताइएको छ।
(कारोबार दैनिक)