नुवाकोटका भूकम्पपीडितले  निःशुल्क बालुवा पाउने

 पब्लिक संवाददाता      बुधबार, पुस ५, २०७४      0

नुवाकोट ५ पुस। नुवाकोटका भूकम्पपीडितले स्थानीय तहको सिफारिसको आधारमा नदीखोलाबाट निःशुल्क बालुवा उत्खनन गर्न पाउने भएका छन्।

जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय बैठकले भूकम्पबाट पूर्णरुपमा घर क्षति भएकाले निःशुल्क बालुवा उत्खनन गर्न पाउने निर्णय गरेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहित प्रहरी प्रमुख वसन्तबहादुर कुँवर तथा स्थानीय तहका प्रतिनिधिको बैठकले ढुंगा, गिट्टी र बालुवाको अभावमा घर निर्माण गर्न समस्या भोगिरहेका लाभग्राहीलाई आफैंले खोलाबाट बालुवा संकलन गर्न अनुमती दिएको छ।

जिल्ला समन्वय समितिलाई तिर्नुपर्ने कर तिरेर बालुवा लैजान सकिने गरी व्यवस्था मिलाइएको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बताए। आवश्यक बालुवा उत्खनन गर्दा डोजरको प्रयोग गर्न नपाइने उनले बताए।

भूकम्पपछिको पुनःनिर्माणसहित ठूला आयोजना निर्माणको लागि जिल्लामा १३ लाख घनमिटर बालुवाको आवश्यकता रहेपनि प्रर्याप्त बालुवा नभएको बताइएको छ। आफूखुशी बालुवा संकलन गर्दा मागसमेत घट्ने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको भनाइ छ।

बैठकमा क्रसर उद्योग सञ्चालन गरिरहेका र प्रशोधन गरिरहेका व्यवसायीले बालुवाखानी सञ्चालनको लागि अनुमति माग गरे पनि प्रशासनले अवैध कामलाई वैधa बनाउन नसकिने बताएको छ।

नुवाकोटमा २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पले क्षति भएका ६९ हजार आवास निर्माण गर्नुपर्ने भूकम्प आवास पुनः निर्माण प्राधिकरण नुवाकोटको तथ्यांक छ। (अन्नपूर्ण पोष्ट)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।