सुपर ग्यास उद्योग आगलागी नियन्त्रण भन्दा बाहिर, भारतबाट उपकरण झिकाइयो

 पब्लिक संवाददाता      बुधबार, पुस ५, २०७४      0

वीरगन्ज ५ पुस। पर्साको वीरगन्ज महानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आएको छैन्।

आगलागीमा परी दुईजना अग्नी नियन्त्रकको मृत्यु भएको छ। जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ।

ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ। उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगोलागी भएको स्थान आसपासका बस्तीहरु खाली गराइएको छ ।

आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।

आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

आगलागीको समयमा उद्योगभित्र कतिजना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन।

आगोलागी नियन्त्रणका लागि भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु झिकाइएको छ।

यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।