साउदी अरेबियालाई लक्षित गरी हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

 पब्लिक संवाददाता      बुधबार, पुस ५, २०७४      0
फाईल तस्बिर

काठमाडौं, पुस ५ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादलाई लक्षित गर्दै प्रहार गरेको एक क्षेप्यास्त्र साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको छ। हुथीले सञ्चालन गरेको अल मासिराह टेलिभिजनले विद्रोहीहरुले बुर्कान–टू नामक क्षेप्यास्त्र रियादस्थित अल–यामामा दरबारतर्फ लक्षित गरी प्रहार गरेको जनाएको छ।

अल–यामामा दरबारमा बसिरहेको भनिएको उच्चपदस्थ साउदी नेताहरुको बैठकलाई लक्षित गर्दै सो क्षेप्यास्त्र प्रहार गरिएको उसले जनाएको छ। सो दरबार साउदी राजाको मुख्यालय हो।

हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रलाई साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको भए पनि रियादमा विस्फोट भएका आवाजहरु सुनिएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरुले सामाजिक सञ्जालहरुमा धूँवा उडिरहेका तस्बीर राखेका छन् । यमन सरकारलाई समर्थन गर्दै साउदी नेतृत्वको सैन्य गठबन्धन हुथी विद्रोहीहरु विरुद्ध लडाई लडिरहेका छ । हुथीहरुलाई इरानले समर्थन गर्दै आएको छ ।

इरानले हुथी विद्रोहीहरुलाई क्षेप्यास्त्र उपलब्ध गराएको आरोप साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाले लगाउँदै आएका छन् । तर इरानले भने हुथी विद्रोहीलाई हातहतियार नदिएको जिकिर गर्दै आएको छ ।(एजेन्सी)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।