
पुष ४ चरिकोट । जागिर सकिन तीन दिन बाकि छदै जिल्ला प्रहरी कार्यालय दोलखामा खटिएका सबैजसो म्यादी मंगलबार आ-आफ्नो प्रहरी घर फर्केका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाभित्र म्यादी प्रहरीले महँगो रकम तिरेर खाना खानु परेको र ज्यामीको काममा लगाएको भन्दै आन्दोलनमा उत्रिएपछि सधै खाना खाएको स्थान प्रहरीको मेसबाट बन्द गरेका कारण आफूहरु घर फर्केको म्यादी प्रहरीले बताएका छन्।
खाना खान नपाएपछि जिरी फर्कंदै गरेका म्यादी प्रहरी शिव खड्काले आफूहरुले आन्दोलन गरेपछि प्रहरीको मेसमा दुई छाक खाना नपाएका कारण घर फर्केको बताए। खड्काले भने, ‘‘बाहिर गएर चाउचाउ त खाइयो तर सधै खाएको स्थानमा खाना खान नपाउँदा बाहिर खाने ठाउँ भएन त्यसैले घर फर्कियौं।’’ तर म्यादी प्रहरीको जागिरको अवधि भने अझै बाँकी छ।
म्यादी प्रहरीको खाईपाई आउने रासन भत्तामा आर्थिक अनियमितता र सरकारले भने बमोजिमको सेवा सुविधा नदिएको भन्दै सोमबार आन्दोलन गर्दा, प्रहरीले लाठी प्रहार गर्दा १२ जना म्यादी प्रहरी घाइते भएको उनीहरुको भनाइ छ। केही म्यादी महिला प्रहरीले आफूहरुमाथि महिला हिंसा भएको आरोप समेत लगाए। आन्दोलनको क्रममा सोमबार म्यादी प्रहरीहरुले नाराबाजी गर्दै बजार परिक्रममा समेत गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रामेश्वर कार्कीले सोमबार बेलुका र मंगलबारको खाना केही म्यादीले बाहिर गएर खाएको बताए।