पुष ४ दोलखा। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि ५५ दिनका निमित्त भर्ति गरिएका म्यादीहरुले आफ्नो रासनमा व्यापक घोटाला भएको भनेका छन्।
म्यादी प्रहरीको खाईपाई आउने रासन भत्तामा आर्थिक अनियमितता र सरकारले भने बमोजिमको सेवा सुविधा नदिएको भन्दै सदरमुकाममा कार्यरत म्यादी प्रहरीहरु आफुहरुको रासनमा दैनिक ७० रुपैया घोटला गरिएको भन्दै चरिकोटमा सोमबार आन्दोलित भएका छन्।
सरकारले खानामा म्यादिलाई पनि सिपाही सरह सेवा सुबिधा दिने भनेको छ। त्यो हिसाबमा म्यादीलाई प्रति छाक ६० रुपैयाँ लिनुपर्ने हुन्छ, तर जिल्ला प्रहरीमा मेस चलाउने काेर्ट मास्टरले उनिहरुले खाएकाे खाना वापत प्रति छाक ९५ रुपैयाँ लिएर कार्यालयका लेखा शाखाले हालै तलबबाट कटाएर दिएको छ।
कार्तिक १२ देखि पुस ७ गते सम्म ५५ दिनका लागि भर्ती गरिएका ७ सय ५५ जना म्यादी प्रहरीबाट दैनिक ७० रुपैयाँ कटाउदा २९ लाख ६ हजार ७ सय ५० रुपैयाँ कमिसन अाउने देखिन्छ।
प्रहरी मेसमा ६० रुपैयाँमा एक छाक खाना खाने नेपाल प्रहरीका जवानले ३ थरी तरकारी र हप्तामा एक छाक मासु खान्थे भने म्यादीले भने याे ५५ दिन स्कुसकाे तरकारीकाे झाेलमा छाक टारेकाे सुनाए।
सुचना गलत फैलियो…
जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले म्यादीहरुलाई रासनमा बढी रकम नलिइएको दाबी गरे।
‘उनीहरुले रासनबारे समस्या लिएर आएपछि मैले कोर्ट मास्टर र लेखाका कर्मचारीलाई बोलाएर सोध्दा म्यादीको जम्मा ७० रुपैयाँ प्रति छाकका दरले मात्र रकम काटिएको रहेछ’उनले भने, ‘तर उनीहरु भित्रै २० दिनको ३८ सय (प्रति छाक ९५ रुपैंया) रकम काटिएको गलत सुचना फैलाएर आन्दोलन गर्न लगाइयो।’
कोर्ट मास्टर मार्फत प्रहरीलाई मेसमा खाना खुवाइने कारण रकम घोटाला नभएको उनले दाबी गरे। सोमबारको आन्दोलनपछि सहमति गरी सामाधान भइसकेको उनले सुनाए। म्यादीको गुनासोपछि आफूले ७० रुपैयाँ प्रति छाकको रकम ६५ मा मात्र लिने गरी सहमती गराएको प्रजिअ कार्कीले बताए।