
पुस ४ वीरगन्ज। केही दिनयता बढेको शीतलहर र चिसोका कारण मध्यतराईका जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको छ।
चिसोको कारण वृद्धवृद्धा, बालबालिकादेखि सवारी चालकहरुसमेत मारमा परेका छन्।
हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो।
घाम छेक्ने बाक्लो हुस्सुले अहिले तराईको जनजीवन निक्कै कस्टकर बनाएको छ । तराईका बासिन्दाले तीन दिनदेखि घाम हेर्नसम्म पाएका छैनन्।
तराईका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्ला शीतलहरको चपेटमा बढी परेका छन्।
यस क्षेत्रका बासिन्दाको काम अहिले दिनभर आगो ताप्नुमै सीमित छ । बढ्दो हुस्सुकै कारण सडकमा यातायातका साधन निक्कै पातलिएको छ। बाक्लो हुस्सुले दिउँसै गाडी चलाउँदा पनि बत्ती बाल्नुपर्ने बाध्यता छ।
चिसोका कारण सबैभन्दा बढी पीडित दलित र विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका छन्।
रिक्सा र टांगा चलाएर तथा खेतबारीको काम गरेर दैनिक जीवन गुजारा गर्नुपर्ने मजदुर र विपन्न वर्गका मानिस बढी मारमा परेको पाइएको छ।
बाक्लो हुस्सु र शीतलहरले गर्दा अहिले तराईका जिल्लाहरुमा पटक–पटक हवाई सेवा पनि अवरुद्ध हुँदै आएको छ ।
अस्पतालमा निमोनिया, रुघाखोकीजस्ताका बिरामी बढेकाले चिसोबाट बच्न चिकित्सकले सल्लाह दिएका छन्।
कार्यालयहरुमा कर्मचारी कम देखिन्छन् भने बजारमा चहलपहलसमेत ह्वात्तै घटेको छ।
गरिब समुदायका बासिन्दा जाडोको जोहो गर्न परालको मान्द्रो बुन्न थालेका छन् भने धनी वर्गका बासिन्दा सिरक बनाउन लागेको दृष्य अहिले तराईका जिल्लामा देख्न सकिन्छ।
चिसो बढेसँगै मध्यपूर्वी जिल्लाका सर्वसाधारणले चोक–चोकमा सामूहिक आगो ताप्ने प्रबन्ध मिलाइदिन सरकारसँग माग गरेका छन्। (इमेज)