सिंगापुरलाई ७१ रनले पराजित गर्दै,नेपालले जित्यो एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट

 पब्लिक संवाददाता      आइतवार, पुस २, २०७४      0

काठमाडौं, पुस २। एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हासिल गरेको छ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटियो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ६३ रनको योगदान दिए।

त्यस्तै नारायण जोशीले अविजित ४६ रन बनाए भने सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५, प्रतिश जिसी १० तथा राजन मगरले ३ रन जोडे।

सिंगापुरका इसान सानवेले २ विकेट लिए। सिंगापुरको ब्याटिङतर्फ भने साइहर्ष भेनुगोपालले सर्वाधिक ३१ तथा अर्नव वाद्वाले २१ रन जोडे।

सिंगापुरलाई सस्तो मै समेट्ने क्रममा नेपालका सूर्य तामाङ र अजयकुमार लुनियाले ३-३ विकेट लिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।