चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २९, २०७४      0

मंसिर २९ काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ। यो बर्षकै प्रतिक्षाको रुपमा रहेको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको दोहोरो चरित्र देखिएको छ। अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा देखिएका छन् भने उनको चकलेटी रोमान्टिक अवतार पनि चलचित्रको ट्रेलरमा देख्न सकिन्छ।

३ मिनेट लामो ट्रेलरमा नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन्। चलचित्रको ट्रेलरले चलचित्रप्रतिको उत्सकुता निक्कै बढाएको छ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्र माघ २६ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ। पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन छ। चन्द्रले नायक केसीलाई एक्सन अवतारमा गज्जबले ढालेका छन्।

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्माता श्री पराजुली हुन् । सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो। सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता हुन्।

नायक अनमोल केसीका फ्यान, आम दर्शकदेखि चलचित्रकर्मीले समेत यो चलचित्रको ट्रेलरलाई प्रतिक्षा गरिरहेका थिए। अघिल्ला ४ चलचित्रमा चकलेटी अवतारमा देखिएका अनमोलले पाँचौ चलचित्र ‘कृ’मा भने आफूलाई पूर्ण रुपमा बदलेका छन्। यो चलचित्रसँगै अनमोल अब रोमान्टिकसँगै एक्सन हिरोको रुपमा पनि जम्ने पक्का छ।

ट्रेलर हेर्नुस…

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।