जेरुसेलम, मंसिर २४। इजरायली रक्षा बल (आइडिएफ)ले हमास समूहद्वारा मध्य गाजा क्षेत्रबाट इजरायल पुग्नेगरी निर्माण गरिएको सुरुङमार्गलाई ध्वस्त गरेको आइतबार जनाएको छ।
‘निकै लामो रहेको सुरुङको पत्ता लगाउन र ध्वस्त गर्न आइडिएफले विकास गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको थियो,’ आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कनरिकसले बताए।
सेनाले उक्त घटनामा हमास जिम्मेवार रहेको थाहा भएपनि यसलाई ‘सेनाले विशेष चर्चा गर्न नचाहेको’ बताएको छ।
दक्षिण इजरायलको सीमानासँग नजिक रहेको गाजा क्षेत्रमा हमास लडाकू समूहको नियन्त्रण रहेको छ। हमासले इजरायलको अस्थित्वलाई नै स्वीकार गर्दैन। हमास र इजरायल पटक पटक युद्ध लडेका थिए र पछिल्लो युद्ध सन् २०१४ मा भएको थियो।
सन् २०१४ मा एक सुरुङको पत्ता लागेपछि सुरु भएको युद्धपछि इजरायलले यस्ता सुरुङको पत्ता लगाउने नयाँ अत्याधुनिक प्रविधिको विकास सुरु गरेको दावी गरेको छ। (रासस/सिन्ह्वा)