२४ मंसिर– नेपाली कांग्रेसका ‘लो प्रोफाइल’ नेता सञ्जय गौतमले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई बर्दियामा पराजित गराएका छन् ।
२०७० सालको संविधानसभा चुनावमा बर्दिया र प्युठानबाट चुनाव जितेका गौतम यसपटक सगोत्री सञ्जयसँग पराजीत भएका हुन् ।
सिचाई मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउदा वामदेवले ४४ हजार ७६ मत पाए ।
देउवा सरकारमा सिंचाइ मन्त्री बनेर पहिलो पटक गृहजिल्ला बर्दिया जादा सिमा क्षेत्रमा भूमिलाई ढोगेर सञ्जय चर्चामा आएका थिए ।
बर्दियाको माटोलाई शिरले छोएर मात्र जिल्ला प्रवेश गर्ने भन्दै मन्त्री गौतमले टोपी फुकालेर भूइमा ढोगेका थिए ।
बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमा मानखोलामा उत्रेर माटोलाई ढोगेको फोटोले सामाजिक सञ्जाल तताएको थियो ।
२०७० सालको संविधानसभा चुनावमा बर्दिया २ बाट एमालेका पूर्ण शर्मालाई पराजितगर्दै गौतम विजयी भएका थिए ।
एमाले उपाध्यक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए ।
गौतमले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका थिए ।
चुनाव जितेपछि लोकान्तरसंगको प्रतिक्रियामा गौतमले बर्दियाका जनताको स्नेह र आफूले गरेको कामका कारण चुनाव जितेको बताए ।