इन्धनको मूल्य बढ्याे

 पब्लिक संवाददाता      आइतवार, मंसिर २४, २०७४      0

मंसिर २४, नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ।

शुक्रबार बसेको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए।

उनका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य १ सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७-७७ रुपैयाँ र हवाई इन्धन आन्तरिकको मूल्य ८७ रुपैयाँ बनाइएको छ भने हवाई इन्धन बाह्यको मूल्य प्रतिहजार लिटर ८ सय ५० डलर कायम गरिएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ७४ र खाना पकाउने ग्यासलाई प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ थियो ।
यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दीपायलका लागि तय गरिएको पनि उनले जनाए। पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको भन्दै उनले चारआली, वीरगन्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसामा खरिद गर्न पाउने छन् ।यसैगरी, खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।
नयाँ मूल्य अनुसार अब निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढे पनि निगमले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा बेहोर्नुपर्नेछ । किनकि मिसावट हुन नदिन डिजेल र मट्टीतेलको मूल्य बराबरी राख्ने गरिएको छ । त्यस्तै, खाना पकाउने ग्यासमा अझै प्रतिसिलिन्डर २२६ रुपैयाँ ७७ पैसा घाटा रहने उनले बताए । मूल्य बढाउँदा पनि नेपालमा कायम हुने मूल्य भारतको भन्दा डिजेलमा २३ रुपैयाँ ९९ पैसा र पेट्रोलमा १९ रुपैयाँ ४० पैसा सस्तो पर्नेछ । यसबाट इन्धन फेरि भारततर्फ चोरी निकासी हुनेतर्फ सचेत रहेको पनि निगमले जनाएको छ ।
यसअघि सरकारले चुनावअघि इन्धनमा मूल्यवृद्धि गरेको थियो । तर, त्यसको विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशमा मूल्यवृद्धि फिर्ता लिइएको थियो।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको गोइतले बताए। मूल्य समायोजन नगर्दा पछिल्लो समयमा निगमलाई मासिक घाटा १ अर्ब ६ करोड मासिक घाटा हुँदै आएको थियो। मूल्य समायोजन भए पनि निगमले मासिक ४० करोड अझै घाटा बेहोर्ने उनले जानकारी दिए।

(काराेबार दैनिक)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।