मंसिर २३, प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले काठमाडौंमा विजयी सुरुवात गरेको छ । काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये सबैभन्दा पहिले मतपरिणाम सार्वजनिक भएको काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह विजयी भएका हुन् ।
उनले कूल १० हजार नौ सय ३६ मत आउँदा उनका निकटतम प्रतिस्पर्धी १० हजार १ सय १८ मत ल्याउँदै विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र दोस्रो भएका छन् । उनी सिंह भन्दा ८ सय १८ मतले पछि भएका हुन् ।
काठमाडौं क्षेत्र नं १ बाट विजयी भएलगत्तै सिंहले चुनावी रिजल्टको समिक्षा सुनाएका हुन्। ‘कांग्रेसले राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गर्ने भूमिका जनतालाई चित्त बुझेको छैन भन्ने चुनावी रिजल्टबाट देखिएको छ’, उनले भने, ‘कांग्रेसले गम्भीर भएर सोचेर संगठन दरिलो बनाउन र लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर संस्थागत रूपमा अगाडि बढाउने चुनौती आएको छ।’