
काठमाडौं, मंसिर २१ । सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ । चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीति अन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्याउने योजना बनाएको हो।
चीनसँगको केरुङ नाकामात्र सञ्चालन भइरहेको अवस्थामा अन्य नाकामा पनि सडक सञ्जालले जोड्न सरकारले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । तातोपानी नाका करिब दुई वर्षदेखि बन्द छ भने मुस्ताङको कोरला नाकासम्म सडक पुगे पनि सञ्चालनमा आउन सकेको छैन ।
पाँच नाकामा दुई वर्षभित्रै सडक पुर्याउने योजना छ । अन्य नाकामा पनि चार वर्षभित्र सडक पुर्याउन काम भइरहेको छ। योजना अघि बढाउन उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना तयार गरेर कार्यान्वयन भइरहेको छ।
चीन जोड्ने एक दर्जन नाकासम्म सडक ट्रयाक खोल्ने योजना रहेको आयोजना प्रमूख बलराम मिश्रले बताए। –नागरिक दैनिकबाट