काठमाडौं, मंसिर २० । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार आयोगको कार्यालय कान्तिपथमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।सुरक्षाको पूर्णप्रत्याभूति रहेकाले निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ।
बिहीबार मंसिर २१ गते ४५ जिल्लामा दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको लागि मतदान हुँदैछ ।कुल १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यमध्ये पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि निर्वाचन भइसकेको छ ।
दोस्रो चरणमा ४५ जिल्लाका १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि मतदान हुन लागेको हो। जसमा प्रतिनिधिसभाका १२८ सिटका लागि १ हजार ६६३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाका २५६ सिटका लागि २ हजार ८१९ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभाको निर्वाचनका लागि १ हजार ५३३ पुरुष उम्मेदवार छन् भने १३० जना महिला उम्मेदवार मैदानमा छन् ।
यस्तै, प्रदेशसभाका लागि २ हजार ५९९ जना पुरुष उम्मेदवार मैदानमा उत्रिएका छन् भने २२० महिला उम्मेदवार मैदानमा छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा दुवै गरी पुरुष उम्मेदवार ४ हजार १३२ र ३५० महिला उम्मेदवार दोस्रो चरणको निर्वाचनका लागि चुनावी मैदानमा छन् ।
दोस्रो चरणको निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन भएका छन् ।म्यादी प्रहरीसहित चारओटै सुरक्षा निकाय गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।यस्तै, निर्वाचनका लागि ७ हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।निर्वाचनमा ४०० विदेशी पर्यवेक्षक र ४४ हजार स्वदेशी पर्यवेक्षक रहेको निर्वाचन आयोगले जनाएको छ।मतदान बिहान ७ बजेदखि साँझ ५ बजेसम्म हुनेछ ।