रौतहट, मंसिर २० । तराईलाई सुगम जिल्ला मानिएपनि रौतहट मानव सूचकांकमा दुर्गम झैं छ।
६ लाख ८६ हजार ७ सय २२ जनसंख्या रहेको रौतहटमा प्रत्येक घरमा औसत ६ दशमलव ४४ जना बस्छन्। तर त्यहाँका बासिन्दालाई पनि विकास एउटा सपना नै बन्ने गरेको छ।
रौतहटको दुर्गाभगबती गाउँपालिकाको एक वडा यस्तो छ जहाँ मानिस बर्षा लागेपछि भारतको बाटो र हिउँदमा डुङ्गा चढेर आफनो बस्ती र घर जान विवश छन्।
दुर्गाभगवती गाउँपालिकाको पाँच नम्बर वडाको बडहर्वाका ४ सय ५२ भन्दा बढी घरधुरी रहेको यो बस्ती बाग्मती नदी पारी रहेको छ।
सर्लाहीको बलरा नगरपालिकासँग सीमा जोडिएको उक्त बस्तीमा एक निम्न माध्यमिक विद्यालय मात्र छ ।
न त स्वास्थ्य चौकी, न प्रहरी चौकी नै छ। बर्षा लागेपछि त्रासमा बाच्न बाध्य यहाँका बासिन्दा बाग्मती नदीमाथिको अलपत्र निर्माणाधिन पुल चाँडै बनाउन माग गर्छन्।
तत्कालिन प्रधानमन्त्री माधव नेपालले २०६७ सालमा शिलान्यास गरेको पुल १९ वटा पिलर बनाएपछि त्यत्तिकै अलपत्र छ।
निर्माणको जिम्मा लिएको लुम्बिनी बिल्डर्सले काम नै छाडेको छ । गाउँपालिकाको कार्यालय र वडा कार्यालय जानसमेत त्यस बस्तीका बासिन्दालाई समस्या रहेको छ।
प्रजातन्त्र प्राप्तिपछिका सबै निर्वाचनमा भाग लिए पनि चुनावका बेला यही पुलका नाममा सबैजसो दल र उम्मेदवारले भोट माग्छन् तर काम भने कसैले गरेका छैनन्।
पुल नभएकैले पश्चिममा बाग्मती नदी र पूर्वमा सर्लाहीको मनुसमारा खोलाबाट उनीहरुको जीवन नै जोखिममा परेको छ। त्यसैले त सबै जना एकै स्वरले भन्छन्, बाग्मती नदीमा पुल बनाईदिनु पर्यो।
पुल नभएकैले उनीहरु बस्तीमा आवतजावत गर्न डुंगा संचालकलाई वर्षेनी प्रत्येक घरबाट २० किलो धान बुझाउँछन्। डुंगा संचालकले नदी तारे वापत मोटरसाइकलवालासँग ५० रुपैयाँ लिन्छन्।
चुनावका बेला नानाथरीका बाचा गरेर भोट उम्काउने त्यसपछि फर्केर नआउने अवस्था अन्त्य होस् भन्ने कामना उनीहरुको यसवर्ष छ। (याे खबर हामीले इमेज खबरबाट लिएका हाैँ।)
भिडियाे…………..